Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने, तालिका यस्तो छ

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– भैरहवा विमानस्थलबाट उडान गर्नका लागि यूएईको फ्लाईदुबई, कुवेतको जजीरा एयरवेज र हालै नेपालमा उडान थालेको थाई एअर एशियाले अनुमति पाएका छन्।

उडान अनुमति पाएकामध्ये फ्लाई दुबई र जजीराले सेड्यूल पनि स्वीकृत गराइसकेका छन् तर थाई एअर एशियाले चाहिँ सेड्यूल स्वीकृत गराइसकेको छैन।

यही अक्टोबर २ बाट नेपालमा उडान सुरु गरेको थाई एअर एशियाले बैंकक–काठमाडौं चार र बैंकक–भैरहवा चारवटा उडान गर्ने गरी अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुललाई उदृत गरी बीबीसी नेपाली न्यूजले लेखेको छ।

‘उसले भैरहवामा उडान गर्न पाउने नीतिगत अनुमति पाइसकेको छ, अब तालिका स्वीकृत गराउन मात्र बाँकी हो’, भुलले भनेका छन्।

उक्त कम्पनीको प्राविधिक टोलीले गत अक्टोबर ३ मा भैरहवा गएर विमानस्थलको प्राविधिक निरीक्षण गरिसकेकाले चाँडै तालिका स्वीकृतिका लागि पठाउनसक्ने भुलको भनाइ छ।

भैरहवा विमानस्थलका निमित्त महाप्रबन्धक सन्तोषकुमार पोखरेलका अनुसार फ्लाईदुबई र जजीरा दुवैले यही अक्टोबर २७ देखिको उडान तालिका स्वीकृत गराएका छन्।

‘फ्लाईदुबईले नोभेम्बर १० देखि उडान सुरु गर्ने पत्र पठाइसकेको छ। जजीराले भने कुन दिनदेखि उडान हुन्छ भन्ने यकिन मिति दिन बाँकी छ’, पोखरेललाई उदृत गर्दै बीबीसी नेपाली न्यूजले लेखेको छ। 

कम्पनीहरूले दिएको जानकारीअनुसार नै उडानको व्यवस्थापनका लागि विमानस्थलले तयारी गरिरहेको उनले बताए।

प्राधिकरणका सूचना अधिकारी भुलले दिएको जानकारी अनुसार फ्लाईदुबईले हप्ताका सातै दिन एकएक उडान गर्ने तालिक स्वीकृत गराएको छ।

जजीराले भने मङ्गलवार, बिहीवार र शनिवार गरी सातामा तीन उडान गर्ने स्वीकृति लिएको छ।

भुलले भने, ‘फ्लाईदुबईले हरेक दिन दिउँसो १ः४५ मा दुबईबाट भैरहवामा अवतरण गर्छ र त्यहाँ एक घण्टा रोकिन्छ। यात्रुहरू त्यहाँ झर्छन्, अनि २ः४५ मा त्यो जहाज काठमाण्डूका लागि उड्छ।’

‘काठमाडौंमा ३ः३० बजे अवतरण हुन्छ र यहाँबाट यात्रुहरू लिएर ४ः३० मा दुबईका लागि उड्छ।’

भैरहवा विमानस्थलका निमित्त महाप्रबन्धक पोखरेलका अनुसार फ्लाईदुबईले भैरहवामा बोइङ–७३७ विमानबाट उडान गर्ने अनुमति लिएको छ।

जजीराले भने बिहानको समयमा उडान गर्ने अनुमति लिएको छ। कुवेतबाट भैरहवा विमानस्थलमा बिहान ७ः३० मा अवतरण गर्ने जजीरा बिहान ८ः३० मा त्यहाँबाट कुवेतका लागि उड्ने छ।

भुलले फ्लाईदुबईलाई उड्डयन क्षेत्रमा ’एट्थ फ्रीडम’ भनेर बुझिने नियमअनुसार नेपालमा अनुमति दिइएको हो।

‘यो नियमअनुसार कुनै पनि विदेशी विमान सेवा कम्पनीले अर्को देशभित्रैका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्न पाउँछन्। उनीहरूले यात्रुहरू ओराल्ने र चढाउने पनि गर्न मिल्छ’, भुलले भने।

‘हामीले सोही नियमअनुसार फ्लाई दुबईलाई अनुमति दिएका हौँ।’
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्