Nic Ad Nic Ad
Nic Ad Nic Ad

असोजमा कामका लागि बिदेसिए ५३ हजार नेपाली 

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ - दसैँ पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले जनाएको छ । साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

विभागका अनुसार चाडबाडको मुखमा पनि रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेक्रम रोकिएको छैन । असोजमा रोजगारीको खोजीमा नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुक गएका छन् । असोजमा १७ हजार नेपाली युएई गएका छन् ।

त्यस्तै साउदीमा १० हजार, कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका छन्।

युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् ।

असोजमा सबैभन्दा धेरै धुनषा जिल्लाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार धनुषाबाट २ हजार ९४४ हजार ३६० विदेश गएका छन् ।

त्यस्तै झापाबाट २ हजार ५४५, सिरहाबाट २ हजार ३४१, मोरङबाट २ हजार १८६, महोत्तरीबाट २ हजार २८९, सुनसरीबाट १ हजार ८२८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्