Nic Ad Nic Ad
Nic Ad Nic Ad

काबेली करिडोर प्रसारण लाइन तिहारअघि सञ्चालनमा ल्याइने

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- इलामको माइखोला बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण तीव्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जा लगायत सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम, लागत लगायत खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् ।

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमूनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।

गत १२ असोजमा माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका-१ र ७ धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजनाको करिब २०० मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजदेखि उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द छ ।

विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले दैनिक रूपमा आम्दानी गुमाइरहेका छन् ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माइखोला बाढीले क्षति पुर्‍याएको थियो ।

उक्त स्थानबाट प्रसारण लाइनलाई माइखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । बाढीले क्षति पुर्‍याएको टावरको जग हाल्ने काम भइरहेको छ । टावरका सम्पूर्ण पार्टपुर्जा निर्माणस्थलमा पुर्‍याउने काम भइसकेको छ ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत सकिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटेका कार्कीले सम्पूर्ण काम सकेर तिहारअघि नै विद्युत् प्रसारण सुरु गर्ने गरी काम भइरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्