Nic Ad Nic Ad
Nic Ad Nic Ad

माछापुच्छ्रे सहकारीका अध्यक्ष जेल चलान

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि मोरङ कारागार चलान भएका हुन् ।

शुक्रबार न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ । सहकारीको रकम हिनामिना र अपचलन गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सञ्चालक तथा ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर गरिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष कर्णसहित उपाध्यक्ष सनातन मण्डल, सचिव उत्तम ढुंगेल, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु हुन्। अन्य खराब ऋणीहरू हुन् ।

सहकारीको बचत हिनामिना प्रकरणमा अध्यक्ष कर्ण मात्रै पक्राउ परेका थिए । अन्य सञ्चालक र ऋणीलाई फरार प्रतिवादी बनाइएको छ। प्रहरी अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको थियो ।

सहकारी १०३ बचतकर्ता २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् । सहकारी संस्थाबाट १ सय ८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लगानी भएको छ । तर धितो लगानी भएको केही ऋणको फाइलमा ऋणीको हस्ताक्षर समेत नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्