दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश
काठमाडौँ- इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ । सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरूविरुद्ध ‘काम गर्ने’ भन्दै उक्त आदेश दिएको हो ।
उक्त ‘जरुरी चेतावनी’ सेनाका अरबी प्रवक्ता अभिचय अद्राईद्वारा जारी गरिएको थियो र यसले हारेत ह्रेइक र हदाथ छिमेकलाई सम्बोधन गरेको थियो ।“तपाईँ हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडिएफले निकट भविष्यमा काम गर्नेछ”, अद्राईले टेलिग्राममा भने, “तपाईँ र तपाईँका परिवारका सदस्यहरूको सुरक्षाका लागि तपाईँले तुरुन्तै भवन र त्यससँग जोडिएका भवनहरू खाली गर्नुपर्छ र त्यहाँबाट कम्तीमा पाँच सय मिटर टाढा जानुपर्छ ।”
लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा गढ रहेको इरान-समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले आफ्नो अभियान तीव्र पारेपछि यस्तै चेतावनीहरूले हालैका साताहरूमा इजरायली हवाई आक्रमणहरूको संकेत गरेका छन् ।
इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासको सहयोगी हिजबुल्लाहबीच गत वर्ष गाजामा युद्ध सुरु भएपछि लेबनानी सीमापार लगभग दैनिक गोलाबारी आदानप्रदान भइरहेका थिए । यद्यपि इजरायलले विनाशकारी हवाई आक्रमणहरू सुरु गर्दै र स्थल सेनाहरू तैनाथ गर्दै गत महिनाको अन्त्यतिर आफ्नो अभियानलाई तीव्र रूपमा बढाएको थियो ।
लेबनानी स्वास्थ्य मन्त्रालयका आँकडा अनुसार सेप्टेम्बरको अन्त्यदेखि युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको ज्यान गएको छ ।