Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिया निर्यात बढ्यो, अलैँची घट्यो

सोमबार, कात्तिक ५, २०८१

भद्रपुर (झापा) - मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कनुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । 

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो । 

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमशः २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्