चार बालिकाको उद्धार, यीनै हुन् बन्धक बनाएर यौन व्यावसायमा लगाउने गोतामे
काठमाडौं– बन्धक बनाएर यौन व्यावसायमा खटाउने एक महिलालाई पक्राउ गर्दै प्रहरीको मानव बेचबिखन ब्युरोले चार बालिकाको उद्धार गरेको छ।
नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले शुक्रबार मुलपानीबाट पक्राउ गरेको थियो।
उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ।
बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ। पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्