Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी सेवामा उच्च व्यावसायिकता र समर्पण आवश्यक : आईजीपी कुँवर

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ- प्रहरी महानिरीक्षक(आईजीपी)बसन्त बहादुर कुँवरले प्रहरी सेवामा उच्च व्यावसायिकता र समर्पण आवश्यक रहेको बताएका छन् । 

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स (पीजिडिपीएस)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ६५ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३० जना गरी कूल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले देश र नागरिकको सेवामा समर्पित नेपाल प्रहरी जस्तो ऐतिहासिक एवम् गरिमामय संगठनमा प्रशिक्षार्थीहरूलाई स्वागत समेत गरे । 

कुँवरले बद्लिँदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढीकरणका लागि सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने उल्लेख गरे ।

भविष्यको मार्गचित्र आधारभूत तालिमका दौरानमा नै तयार हुने उल्लेख गर्दै प्रहरी कुँवरले भने, ‘नेपाल प्रहरीको अधिकृत हुनुमा जति गर्व जोडिएको छ, यो सँगै जोडिएर आउने चुनौतीहरूको दायरा पनि त्यतिकै बृहत्तर छन् । प्रहरी सेवा केवल जागिर मात्र नभई एउटा जीवनशैली पनि हो । यो सेवामा हामीलाई हरदम उच्च व्यावसायिकता, पवित्र निष्ठा, अदम्य साहस र अविचलित समर्पण भावको आवश्यकता रहन्छ । एक सक्षम नागरिकबाट एक कुशल प्रहरी अधिकृतका रूपमा रूपान्तरण हुन आवश्यक पर्ने सैद्धान्तिक र व्यवहारिक ज्ञान आर्जन पश्चात् मात्र सम्भव हुने हुँदा हरेक प्रहरी अधिकृतहरूलाई आधारभूत तालिमको विशेष महत्त्व हुने गर्दछ ।’ उनले आफ्नो कार्य क्षेत्रमा आई पर्ने विभिन्न चुनौतीहरूको सामना गर्दै एक कुशल कमान्डरको भूमिका निर्वाह गर्न तालिममा सिकेका सीप ज्ञान र कौशलले कर्तव्य पथमा निरन्तर निर्देशित गर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले संगठित अपराधको वृद्धि एवम् प्रगतिशील विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै विगतको दशकमा पुलिसिङमा धेरै परिवर्तन एवम् विकास भएको र सोही अनुरूप विगत र वर्तमानलाई मात्र नभई भविष्यमा समेत सक्षम र दक्ष ठहरिने गरी प्रशिक्षण कार्यक्रमहरू संचालन हुन आवश्यक रहेको बताए । 

कठिन परिश्रम र अथक लगावबाट मात्र सफलता प्राप्त हुने भन्ने कुरा प्रशिक्षणले सिकाउँदै लैजाने चर्चा गर्दै उनले प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशीलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्