Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन मन्त्रालयद्वारा पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो ।समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानून मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।

समितिले गौशाला धर्मशाला स्थापनायताको अध्ययन गर्ने, गौशालाको आयव्यय विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अदालतबाट विभिन्न समयमा भएका फैसला, अख्तियार, संसदीय समितिका प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ ।

समितिले गौशाला धर्मशालामा रहेको जग्गा स्वामित्वका सम्बन्धमा समेत अध्ययन गरी ३० दिनभित्र पर्यटन मन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्