नेभिगेशन
राजनीति

के प्रेम आले स्वतन्त्र सांसद हुन्? कारण यस्ता छन्

काठमाडौं– नेकपा एकीकृत समाजवादीमा आबद्ध रहेका सांसद प्रेम आलेले अहिले पार्टीमा नरहेको घोषणा गरिसकेका छन्। औपचारिक रुपमा नगरे पनि मिडियामा उनका प्रतिक्रिया त्यहि हिसाबले आइरहेका छन्। 

एमालेमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला उनको भनाई थियो,‘मैले छाडेको पार्टीमा जान्न। म अहिले एकीकृत समाजवादीमा पनि छैन।’

प्रतिनिधि सभा सदस्य रहेका उनलाई एकीकृत समाजवादीले कारबाही गर्न सक्ने स्थिति छैन। 

उनी एक स्वतन्त्र सांसद जस्तै हुन्। न उनलाई कुनै ह्वीप लाग्छ, न पार्टीले सांसद पदबाट कारबाही गर्नका लागि सिफारिस गर्न सक्छ। 

एकीकृत समाजवादी राष्ट्रिय दल बन्न नसकेका कारण आलेले दाबी गरेअनुसार उनी स्वतन्त्र सांसद छन् अहिलेसम्म। उनी अन्य दलमा मिसिए पनि एकीकृत समाजवादीको कारबाहीले बैद्यता पाउँदैन। 

समानुपातिकमा थ्रेसहोल्ड नकटाएका कारण उक्त पार्टीको राष्ट्रिय दलको मान्यता छैन, संविधानअनुसार। 

स्वतन्त्र घोषणा गरे पनि आले भाग्यमानी र चलाख नेता मानिन्छन्।

प्रतिनिधि सभा विघटनपछि केपी शर्मा ओली क्याम्पमा रहँदा उनी बनमन्त्री बने। त्यहि बेला कोरोनाकाल चलेका बेला अक्सिजन सिलिन्डरमा फोटोसहितको स्टिकर टाँसेका कारण उनको विवाद आएको थियो। 

त्यसलाई सामना गरेका आले पछि एमाले छाडेर एकीकृत समाजवादीमा सामेल भए। उनले त्यो बेला संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको जिम्मेबारी पाए। 

एकीकृत समाजवादीमा रहेर गठबन्धनको साझा उम्मेदवार रहेकाले निर्वाचनमा पनि जित निकाले। ०७९ को निर्वाचनमा जित निकालेका आले अहिले भने एकीकृत समाजवादी छाडेको स्थितिमा छन्। 

उनी भन्छन्,‘म अहिले स्वतन्त्र रुपमा छु। एकीकृत समाजवादी छाडीसकें।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति