Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई भारतीय कम्पनीका २० जहाजलाई बमले उडाउने धम्की, नेपालमा पनि असर

मंगलबार, कात्तिक ६, २०८१

नयाँ दिल्ली – भारतीय हवाईजहाज कम्पनीहरूलाई केही समययता लगातार बमले उडाइदिने धम्की आउन थालेको छ । भारतका चर्चित इन्डिगो र भिस्तरासमेत कयौँ कम्पनीका जहाजहरू बमले उडाउने धम्की आइरहेको हो । मंगगलबार मात्रै दुवै एयरलाइन्सका १०-१० जहाजलाई बमले उडाइदिने धम्की आएको हो ।

पछिल्ला केही दिनयता भारतीय एयरलाइन्सलाई निशाना बनाउँदै यस्ता धम्कीसहितका फोन र ईमेल लगातार आइरहेका छन् । इन्डिगो एयरलाइन्सले मंगलबार आफ्ना १० उडानमा धम्की मिलेको जनाएको छ । मुख्य गरी अन्तरराष्ट्रिय उडानका जहाजलाई बमले उडाउने धम्की आएको हो ।कयौँ होक्स कलसहितका घटना जोड्दा यस साता यस एयरलाइन्सलाई आएका धम्कीको संख्या नै १०० भन्दा माथि पुगेको छ।

एयरलाइन्सका अनुसार बमको धम्की मिलेकामध्ये ६ई-६३ दिल्ली जेद्दाह, ६ई-१२ इस्तान्बुल-दिल्ली, ६ई-८३ दिल्ली-दम्माम, ६ई-६५ कोझिकोड-जेद्दाह, ६ई-६७ हैदराबाद-जेद्दाह, ६ई-७७ बेङ्गलुरु-जेद्दाह, ६ई-१८ इस्तान्बुल-मुम्बई, ६ई-१६४ मैङ्गलुरु-मुम्बई, ६ई-११८ लखनऊ-पुणे र ६ई-७५ अहमदाबाद-जेद्दाह रहेका छन् ।

एयरलाइन्स सूत्रले भारतीय सञ्चारमाध्मयलाई बताएअनुसार इन्डिगोसँगै भिस्तरा एयरलाइन्सका जहाजलाई पनि बमले उडाउने धम्की मिलेकोछ । सोमबार र मंगलवारको बीचमा यस्ता सुरक्षा चेतावनी आएका हुन् । यसले विमानस्थल र जहाजमा कडा सुरक्षा जाँच गर्नु परेको छ ।

भिस्ताराका प्रवक्ताले घटनाबारे अध्ययन भइरहेको बताएका छन् । सोमबार उडानमा रहेका भिस्ताराकाकेही जहाजलाई सामाजिक सञ्जालबाट सुरक्षा चेतावनी आएको हो ।

त्यसबारेमा कम्पनीले सुरक्षा अधिकारीहरूाई सतर्क गराएको उनले बताए । सुरक्षा अधिकारीको निर्देशन पालना गरेर सुरक्षा चेकजाँच गरेको उनले बताएका छन् । इन्डिगोले आफ्नो वक्तब्यमा यात्रु र चालक दलको सुरक्षामा गम्भीर रहेको बताएको छ । यसबारेमा सम्बन्धित अधिकारीसँग मिलेर काम गरिरहेको पनि उनले बताएका छन् । यसैबीच मंगलबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको भिस्ताराको जहाजमा पनि बम राखेको सूचना आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत उक्त धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ । अहिले विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेका छन् । त्यसको असर सिधा उडान रहेको नेपालमा पनि देखिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्