Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदर्शनमा सोचे जस्तो पोखरेली जनता आएनन्, १० समूह बनाएर रास्वपा नेताहरूको घरदैलो

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– जिल्ला अदालत कास्कीमा म्याद थप गर्न जाँदा रास्वपा सभापति रवि लामिछानेले पोखरेली जनतालाई भनेका थिए– केपी शर्मा ओलीको सरकार नढाली हुँदैन, तपाई जनताहरू घर–घरबाट आन्दोलनमा उत्रिनुहोस्।’

रास्वपाका २१ सांसदसहित प्रायः केन्द्रीय सदस्य पोखरामा दिनहुँ प्रदर्शनमा छन्। यति मात्र होइन उनीहरूले त्यसमा साथ दिनका लागि आह्वान पनि गरिरहेका छन्। 

सामाजिक सञ्जालबाट पनि उत्तिकै आह्वान गरेका छन्। तर, पोखरेली जनता प्रदर्शनमा सोचेअनुसार सहभागी नभएपछि अहिले रास्वपा नेताले १० समूह बनाएर घरदैलो गरेका छन्। 

घर–घर गएर आन्दोलनमा उपस्थित भइदिन बिन्ति बिसाइरहेका छन्।

मंगलबार केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगे। उनीहरुले त्यहाँका नागरिक अगुवा र आफ्ना समर्थकहरूलाई भेटेर आन्दोलनमा पोखरा झर्न आग्रह गरेर फर्किए। 

केन्द्रीय सदस्य हरि ढकाल मंगलबार पूरै समय बिरौटा क्षेत्रमा घरदैलो गरेका थिए। प्रत्येक घरमा चुनावी प्रचारको समय झैं छिरेर प्रदर्शनमा आउन उनले आग्रह गरे। पोखराको प्रदर्शनमा अन्य जिल्लाबाट कार्यकर्ता र समर्थकहरू भेला भएका छन्। 

कार्यबाहक प्रवक्ता मनिष झा भनेर अमरसिंह क्षेत्रमा घरदैलो गरेका थिए।

घरदैलोपछि मंगलबार केही मानिस थपिएको र बुधबार अझ थपिनेमा रास्वपा नेताहरू विश्वस्त छन्। 

सूर्यदर्शन सहकारी ठगी र रकम अपचलन प्रकरणमा सभापति लामिछानेलाई कास्की प्रहरीले बयान लिनका लागि थुनामा राखेको छ। ६ दिनका लागि थपिएको पहिलो चरणको म्याद बुधबार सकिँदैछ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्