Nic Ad Nic Ad
Nic Ad Nic Ad
साइलेन्ट लिडर

कम बोल्ने तर सत्ता राजनीतिका ‘चाणक्य’ हुन् देउवा

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– झोंकी स्वभाव भएका तर सत्ता राजनीतिमा सँधै दबदबा राख्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। 

प्रजातान्त्रिक प्रणालीलाई आत्मसाथ गरे पनि कांग्रेस भित्रको आन्तरिक राजनीति होस् वा सत्ता राजनीति गिरिजाप्रसाद कोइरालापछि देउवाको दबदबा बलियो रहेको छ। 

पार्टी कमजोर हुँदा पनि प्रधानमन्त्री बनेर निर्वाचन गराउन सफल रहेका देउवको व्यवाहार अलिक झोंकी रहेको तर त्यसमा आफू अभ्यस्त भइसकेको एउटा अन्तरवार्तामा पत्नी आरजु राणाले बताएकी थिइन्। 

०७० यता उनको प्रभाव सत्ता राजनीतिमा पनि बलियो रहेको छ। ०७४ पछि भने झनै प्रभावकारी बनेको पाइन्छ। 

०७४ सालको आम निर्वाचन गराउन सफल भए पनि देउवाको दल समानुपातिकसहित अहिलेको संसदमा ६३ सीटमा खुम्चियो तर उनको राजनीतिक ताकत भने खुम्चिएन। 

हालका प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले तत्कालिन नेकपा विवादबीच प्रतिनिधि सभा विघटन गरेपछि देउवाको सत्ता राजनीतिमा स्वतः उदय भयो। 

प्रतिनिधि सभा विघटनको बिरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता बिरोधमा उत्रिएपछि देउवाको ५ औं पटक प्रधानमन्त्री बन्ने ढोका खुल्यो। 

यता नेकपा विभाजनको संघारमा पुग्दा एमाले र माओवादी ब्युँतियो भने एमाले विभाजित गरी नेकपा एकीकृत समाजवादीको जन्म भयो। यसपछि देउवाका लागि प्रधानमन्त्रीको कुर्सी स्वतः आउने स्थिति बन्यो। 

प्रचण्डको पहलमा ओलीलाई सत्ताच्युत गरियो र देउवा प्रधानमन्त्रीको कुर्सीमा पुगे। उनलै ०७९ को तीन तहको निर्वाचन गराउन सफल भए। 
अति कम बोल्ने देउवा मिडियामा पनि त्यति खुल्दैनन् भने बोलेको खण्डमा झोंकी स्वभाव देखाउँछन्। तर, उनै सत्ता राजनीतिका मूल खेलाडी बनिरहेका छन्। 

‘ओली प्रचण्डजस्तो धेरै बोल्ने बानी छैन। त्यति मौन बसेर सत्ता राजनीति हाँकिदिने उहाँ जत्तिको राजनीतिज्ञ कोही छ त?’, एउटा प्रसङ्गमा कांग्रेस नेता चन्द्र भण्डारीले भनेका छन्,‘धेरै बोल्नेको गति के भएको छ। देख्नुभयो होला नि।’

०७९ को निर्वाचनपछि भने उनले प्रधानमन्त्री पदमा अडान कायम राख्दा प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बने। तर, जब विश्वासको मत दिने बेला आयो देउवाले तख्ता नै परिवर्तन गरे भने आफ्ना समकक्षी राजनीतिज्ञ रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भए। 

प्रचण्डलाई प्रधानमन्त्रीमा टिकाइराख्ने सहमति गरे पनि फेरि समीकरण बदलेर एमालेसँगको नयाँ समीकरण बनेपछि देउवा मौन थिए। 

तर गत असार १७ गते उनले फेरि समीकरणमा फेरबदल गरी ओलीलाई प्रधानमन्त्री बनाउने मौन खेल खेलिदिए। अहिले सोही सरकार निरन्तरतामा छ जहाँ पत्नी आरजु राणालाई देउवाले परराष्ट्रमन्त्री बनाएका छन्।

कतिपय नेताहरू भन्छन्,‘आरोप प्रत्यारोप अथवा उनको बिरोध नै किन नहोस् त्यसमा खासै प्रतिक्रिया दिने चलन छैन। त्यसैले उनी सत्ता राजनीतिका चाणक्य हुन्।’

कांग्रेसभित्र पनि उनको प्रतिपक्षी बलिया छन्। तैपनि दुई कार्यकाल सभापतिमा जित निकालेर सबै नेतालाई मिलाएर बसेका छन्। उनको खरो आलोचक तथा संसदीय निर्वाचनमा प्रतिस्पर्धी बनेका महामन्त्री गगन थापालाई पनि उनले मिलाउन सकेका छन्। 

पछिल्ला चरणमा त थापा नै देउवाको उत्तराधिकारी भनेर पनि टिप्पणी हुन्छ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्