Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याद नाघेको मदिरा विक्री गर्ने पसललाई २ लाख जरिवाना

बुधबार, कात्तिक ७, २०८१

लमजुङ- जिल्ला प्रशासन कार्यालय लमजुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सुन्दर बजार नगरपालिका वडा नं. ३ निवासी शान्ता न्यौपानेको नाममा रहेको न्यू शान्ता मदिरा पसललाई म्याद नाघेको खाद्यान्न र अवैध बिक्रीका लागि तयारी अवस्थामा पेय पदार्थ राखिएको भेटिएसँगै दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा कात्तिक १८ गते सुन्दर बजार नगरपालिका वडा नं. ९ स्थित उक्त पसलमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका सिजी क्यान बियर ५०० मिलिलिटरका ९७ कार्टुन, एप्पल साइडर २५० मिलिलिटरका ४ कार्टुन, र अगम जिरा मसिनो २५ केजीको ६ बोरा चामल फेला परेका थिए।

अनुगमनपछि म्याद नाघेका ती वस्तुहरूलाई सोही दिन कानुनी प्रक्रिया पुर्‍याई सिलबन्दी गरिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को खण्ड (ख) बमोजिम मिति २०८१ कात्तिक ५ गते निर्णय पर्चा खडा गरी उक्त पसललाई रु. २ लाख जरिवाना गरिएको हो।

यससँगै, म्याद नाघेका खाद्यान्न तथा पेयपदार्थहरुलाई रितपूर्वक नष्ट गरिने जनाइएको छ। लमजुङ जिल्लामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई थप तीव्रता दिइएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्