कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्ब बढी
काठमाडौं- ६४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि २ खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि स्मिक इन्टरनेशनल प्रालि अस्ट्रेलिया र जेड कन्सल्ट प्रालि नेपाल काठमाडौंले ईआईएको काम गरिरहेको छ ।
पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका बारेमा बुधवार पर्वत सदरमुकाम कुश्माबजारमा भएको सार्वजनिक सुनुवाइमा आयोजनाको कुल लागत, यसले ओगट्ने क्षेत्रफल, प्रभावित क्षेत्रलगायतका बारेमा संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिएको छ । जसमा आयोजनाका कारण चार जिल्लाका ३२ वडा प्रभावित हुने उल्लेख छ । पर्वत, बागलुङ, स्याङ्जा र गल्मीका सात पालिका यसका प्रभावित क्षेत्र हुन् ।
आयोजनामा चार वटा फ्रान्सिस टबाईन हुनेछन् भने दुईवटा टेलरेश निर्माण गरिने छन् । समुद्री सतहदेखि पाँच सय ७० मिटरको उचाइमा निर्माण हुने आयोजनामा डाइभर्सन टनेल दुईवटा, बाँधको उचाइ दुई सय ४४ मिटर र सात सय ६० मिटर चौडाइ हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणपछि पर्वतको विहादीदेखि जलजला गाउँपालिकाको खनियाँघाटसम्म करिब २९ किलोमिटर लामो जलाशय निर्माण हुने जनाइएको छ ।
प्रतिवेदन लेखनमा संलग्न वातावरणविज्ञ खडक महताले यस आयोजनाबाट वार्षिक एक सय ६३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको र जसबाट वार्षिक १५ अर्ब आम्दानी गर्न सकिने जानकारी दिए । उनका अनुसार उक्त आयोजना प्राविधिक, आर्थिक र वातावरणीय हिसाबले सम्भव देखिएको छ । सुरुमा आठ सय ४४ मेगावाट निर्माण हुने सर्वेक्षण गरिए पनि पछिल्लो प्रतिवेदनले छ सय ४४ दशमलव ३९ मेगाबाट उत्पादन हुने देखाएको हो ।
महताले भने, ‘आयोजना निर्माणपछि प्रभावित क्षेत्रका चार सय ३६ घरपरिवार विस्थापित हुनेछन् । यो आयोजनाको बाँध, पावरहाउस, टेलरेस, टनेल, डाइभर्सन, आउटलेटलगायतका संरचना निर्माणका लागि एक हजार आठ सय ९० हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये आठ सय तीन हेक्टर निजी र एक हजार ८२ हेक्टर वन क्षेत्र पर्नेछ भने अन्य राजमार्ग र महत्वपूर्ण सडक पर्नेछन् ।’
बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढेको यो आयोजना सुरु भएपछि यस क्षेत्रका दुई हजार पाँच सय स्थानीयले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । स्थानीय श्रोतको उपयोग, विद्युतीकरण, रोयल्टी तथा शेयरको उपलब्धता, पर्यटन, मनोरञ्जन, विकास तथा भौतिक पूर्वाधार निर्माणजस्ता सकारात्मक प्रभाव र वायु, ध्वनी र पानी प्रदूषण, सामुदायिक स्वास्थ्य र सुरक्षाको जोखिम, हरितगृह ग्यास उत्सर्जन जस्ता केही नकारात्मक असर पर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
कालीगण्डकी धार्मिक एवम् पौराणिक हिसाबले समेत महत्वपूर्ण रहेकाले नदी किनारमा रहेका मोदीवेणी, जैमिनीलगायतका प्रसिद्ध धाम तथा विभिन्न घाटसमेत डुबानमा पर्नेछन् । प्रतिवेदनमा तिनको उचित स्थानान्तरण तथा व्यवस्थापन गरिने उल्लेख छ । त्यसैगरी १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजना, एक दशमलव पाँच मेगावाटको ठेउलेखोला र तल्लो ठेउलेखोला, बञ्जिजम्प, जिपलाइन, तथा पुष्पलाल मध्यहाडी र कालीगण्डकी करिडोरको केही भागमा समेत प्रभाव पर्ने जनाइएको छ ।