खेलाडीको पेटमा लात हानिरहेको एन्फा
काठमाडौं- फुटबलको समग्र विकासका लागि घरेलु लिगले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।
घरेलु लिगले खेलाडीका लागि लामो समयसम्म फुटबल खेलेर आफू र आफ्ना परिवारलाई पाल्ने वातावरण बनाउँछ । यसले आर्थिक गतिविधि बढाउनुका साथै फुटबल समर्थकलाई मनोरञ्जन र व्यस्त राख्ने गर्छ ।
अझ महत्त्वपूर्ण कुरा यसले खेलाडीलाई राष्ट्रिय टिममा प्रवेश गर्ने अवसर दिन्छ र टोलीमा प्रतिस्पर्धात्मक वातावरण बनाउने काम गर्छ ।
नेपालको शीर्ष लिग सहिद स्मारक ए डिभिजन लिग नभएको ५०० दिन कटेको छ ।
गत वर्ष आफ्नो आन्तरिक विवादका कारण एन्फाले ए डिभिजन लिग गराउन सकेको थिएन । २०८० सालको ए डिभिजन लिग गराउन नसकेको बारे किरण राइले भनेका थिए, ‘नियमित साधारण सभा हुन नसकेको कारण हामीले ए डिभिजन लिग गर्न सकेनौँ । साधारण सभाबाट वार्षिक कार्यक्रमका लागि बजेट पास हुनुपर्ने हुन्छ ।’
यसका साथै, उनले अध्यक्ष र महासचिवकै बर्खास्तको प्रस्ताव आउँदा लिगलाई असर गरेको समेत बताएका थिए ।
एन्फाले गत फागुनमा आफ्नो विभिन्न प्रतियोगिताहरूको मिति तय गर्दै २०८०(८१ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । जसमा शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने भनेर उल्लेख गरिएको छ । तर हरेक कुरा लापरबाही गर्ने एन्फाले पुसमा ए डिभिजन गर्न सक्न बारे धेरै प्रश्नहरू उब्जन थालेका छन् ।
ए डिभिजन लिग गर्न पहिला बी डिभिजन लिग गर्नुपर्ने हुन्छ । बी डिभिजनबाट बढुवा भएका शीर्ष २ टिमले ए डिभिजन लिग खेल्ने गर्छन् । अहिलेसम्म पनि बि डिभिजन लिग नभएको कारण २ टिमको टुङ्गो लाग्न सकेको छैन ।
एन्फाको वार्षिक क्यालेन्डर अनुसार बी डिभिजन लिग २०८० साल चैत मै हुनुपर्ने हो । तर आफ्नो आन्तरिक राजनीतिमा रुमलिएको एन्फाले अहिलेसम्म पनि बी डिभिजन लिग गराउन सकिरहेको छ । बी डिभिजन लिग अहिलेसम्म पनि नहुँदा ए डिभिजन लिग समय मै हुने सम्भावना निकै कम रहेको छ ।
एन्फाको प्राथमिकता देशमा फुटबल गराउनेमा भन्दा पनि आन्तरिक राजनीति, तलब सेवा सुविधामा धेरै केन्द्रित भएको देखिन्छ । गत भदौमा बसेको एन्फाको कार्यसमितिले एन्फा महासचिवको तलब झन्डै डेढ लाखले बढाएर २ हजार डलर बनाएको थियो । एन्फाको यो कदम धेरै नेपाली फुटबल समर्थकहरूले विरोध गरेका थिए ।
तबल वृद्धिलाई विषयान्तर गर्न एन्फाले मासिक १८ हजार रुपैयाँ पाउँदै आएका खेलाडीको मासिक भत्ता ३० हजार पुर्याइएको थियो । तर अन्तर्राष्ट्रिय फुटबल समुदायमा के मान्यता छ भने जुन देशले खेलाडीलाई मासिक रूपमा भत्ता दिने गर्छ त्यो देशको घरेलु संरचना खत्तम रहेको बुझ्नुपर्छ ।
हो, त्यस्तै छ नेपाली फुटबलको शीर्ष डिभिजन लिग । एन्फाले ए डिभिजन गर्न नसकेको ५०० दिन भन्दा बढी भइसकेको छ । व्यावसायिक फुटबल खेल्न नपाएर धेरै नाम चलेका खेलाडीहरू विदेश पलायन भएका छन् । जसले गर्दा टिम स्थिर हुन पाएको छैन र प्रत्येक खेलमा सन्तुलन बिग्रिरहेको छ ।
२०२२ जेनेवरीमा पूर्व प्रशिक्षक अब्बदुला अलमुताइरीले बन्द प्रशिक्षणका लागि बोलाएका ३४ खेलाडी मध्ये प्रशिक्षक नवीन न्यौपानेले हालसालै बोलाएको ३६ खेलाडीमा जम्मा ६,७ जना मात्र टोलीमा रहेका छन् । प्राय जसो मुख्य खेलाडी विदेश पलायन भइसकेका छन् ।
नेपालमा रहेका खेलाडीहरू पनि एन्फाको गतिविधि देखेर वाक्कै भइसकेको छन् । उनीहरू विभिन्न समयमा आफ्नो निराशा सामाजिक सञ्जाल मार्फत पोख्ने गर्छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विशाल श्रेष्ठ आफ्नो सामाजिक सञ्जालमा ‘जम्मा ५०० दिन त भएछ’ लेख्दै एन्फाका पदाधिकारीहरुलाई अङ्कित गरेका थिए । यस्तै अर्का खेलाडी आशिष लामाले ‘के राष्ट्रिय खेलाडी मात्र खेलाडी होर रु’ भन्दै एन्फालाई प्रश्न गरेका छन् । एन्फाले लिग गराउन नसक्दा राष्ट्रिय टोली बाहेक अन्य खेलाडीहरूको बेहाल भएको उनको आशय रहेको थियो ।
भर्खरै सम्पन्न महिला लिगको पहिलो चरणका खेलका आधारमा छानिएका खेलाडीहरूले नेपाली महिला राष्ट्रिय टोलीमा प्रतिस्पर्धात्मक वातावरण बनाएको छ । अब राष्ट्रिय टिममा टिकिरहन खेलाडीहरूले निकै मेहनत गर्नुपर्ने अवस्था आएको छ ।
लिगको मुख्य विशेषता नै यही हो । लिगले खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाएर राष्ट्रिय टिममा प्रवेश गराउने ढोका खोलिदिन्छ । पुरुषको फुटबल लिग हुन नसकेको कारण अहिले नयाँ खेलाडीहरूले आफ्नो प्रतिभा देखाउन पाइरहेका छैनन् ।
लिग नियमित हुँदा नेपाल मै फुटबल खेलेर परिवार पाल्छु भन्ने खेलाडीहरू माथि एन्फाले अन्याय गरिरहेको छ ।