सबै स्थानीय तहलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
काठमाडौँ - राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि १० बुँदा कार्यान्वयन गर्नका लागि आयोगको गत असोज १६ को बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो ।
जसमा सूचना अधिकारी अनिवार्य रूपमा तोक्न र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४ को व्यवस्था बमोजिम मात्र गर्ने गराउने व्यवस्था गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार सूचना मागको अवस्थालाई ध्यानमा राखेर आवश्यक भएमा सूचना शाखाको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । यस्तै सूचना अधिकारीलाई सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच तथा सहयोग गर्ने गराउने व्यवस्था गर्नुपर्ने, साथै सूचना अधिकारीलाई स्रोत साधन सम्पन्न बनाउन भनिएको छ ।
सूचनाको हकको कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहले सूचनाको हकसम्बन्धी बजेट तथा कार्यक्रम अनिवार्य रूपमा प्रत्येक वर्ष राख्नुपर्ने, सूचना अधिकारीलाई सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कार जस्ता विषयमा प्राथमिकता दिन पनि निर्देशन दिइएको छ ।
आयोगले सूचनाको हक कार्यान्वयनका लागि राम्रो अभिलेख व्यवस्थापन हुन आवश्यक रहेको भन्दै सूचना प्रविधिमा आधारित अभिलेख व्यवस्थापन प्रणाली अवलम्बन गर्न, स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटमा सूचनाको हकको कार्यान्वयनलाई समावेश गर्न भनिएको छ ।
यस्तै स्थानीय तह आबद्ध तथा अन्तरगत धेरै सार्वजनिक निकाय रहेको भन्दै सबै सार्वजनिक निकायमा सूचनाको हक कार्यान्वयन गर्न गराउन निर्देशन दिनुका साथै तालिम, प्रशिक्षण, छलफलको व्यवस्था गर्ने व्यवस्था गर्न भनिएको छ । यस्तै सूचनाको हक सम्बन्धी कानूनले तोकेका व्यवस्था सबै कार्यान्वयन गर्न र सूचनाको माग सम्बन्धी अभिलेख राखी प्रगति जिल्ला स्तरीय अनुगमन इकाई र आयोगमा पठाउन पनि निर्देशन दिएको छ ।
आयोगले मधेश प्रदेश र लुम्बिनी प्रदेशका ४ वटा जिल्ला सिराह, रौतहट, कपिलवस्तु र नवलपरासी पश्चिम छनौट गरेर सूचनाको हक सम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिका, २०७६ को प्रावधान बमोजिम सूचनाको हक कार्यान्वयनको अवस्थाबारे आरटीआई अडिटपछिको प्रतिवेदन अनुसार यस्तो निर्देशन दिएको हो ।
उक्त प्रतिवेदनको अध्ययन तथा विश्लेषण र प्राप्त सुझावको मूल्यांकन गर्दा सूचनाको हकको कार्यान्वयन अध्ययन गरिएका स्थानीय तहमा सूचनाको हकको कार्यान्वयनको अवस्था केही सन्तोषजनक देखिए पनि धेरै विषयमा थप काम गर्नुपर्ने देखिएको छ । स्थानीय तहमा पहिलो पटक गरिएको अध्ययनले सूचनाको हक कार्यान्वयनमा रहेका कमी कमजोरी तथा समस्याका विषयमा विस्तृत रूपमा अध्ययन गरिएको छ ।