Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या

शुक्रबार, कात्तिक ९, २०८१

तुलसीपुर (दाङ) - तुलसीपुर उपमहानगरपालिका-१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ । हामीले व्यवस्थापन सङ्काय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ । एक राहत र एक जनामात्र स्थायी छन्, हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।

निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए । निजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उनले बताए । निजी शिक्षकको  तलबमा वार्षिक रु पाँच लाख घाटा भएको उनले गुनासो गरे । 

अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उनको दुखेसो छ ।

गरिब, पिछडिएका वर्ग र द्वन्दपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्