Nic Ad Nic Ad
Nic Ad Nic Ad
जिम्मेवारी

रविले किन दिएनन् उपसभापतिलाई कार्यबाहक सभापति, तीन कारण हुन सक्छन्

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन्। तर उनले आफू हिरासतमा हुँदा पनि पार्टीको दैनिक प्रशासकीय काम र निर्णयका लागि कार्यबाहक जिम्मेवारी कसैलाई पनि दिएका छैनन्। 

रविमाथि लामो अनुसन्धान हुने लगभग छाँट देखिए पनि कार्यबाहक जिम्मेवारी दिनुको साटो पार्टीका पदाधिकारी र सांसदलाई आफ्नो रिहाईका निम्ति आन्दोलनमा सडकमा उत्रिनका लागि भनेका छन्। 

आन्दोलनकै निर्णय र ढाँचाको निधो गर्न पनि पार्टीभित्र ‘पावर अफ अटोर्नी’ हस्तान्तरण गर्नुपर्ने संस्थागत मान्यता हुन्छ। तर, त्यो मान्यतासम्म रवि किन पुग्न सकेनन्?

रास्वपामा दुई उपसभापति छन्। डीपी अर्याल रवि गुटका हुन् भने स्वर्णिम वाग्ले ल्याइते। महामन्त्रीदेखि प्रवक्तासम्मलाई कार्यबाहक जिम्मेवारी दिइए पनि उपसभापतिलाई कार्यबाहक दिइएको छैन। यसका तीन कारण हुन सक्छन्।

प्रथम त रविलाई पक्राउ परे पनि दबाबका कारण छुटिहाल्छु भन्ने भ्रम थियो। एक साता भित्र नै आन्दोलनको दबाब र अदालतले केही नभए पनि धरौटीमा छाड्न सक्ने उनको अनुमान थियो। उनको मात्र नभएर रास्वपाका सबै नेता कार्यकर्ताको त्यो अनुमान थियो। 

तर, रवि अहिले छुट्ने सम्भावना अब रहेन। उनको म्याद कास्की जिल्ला अदालतले थपेको छ भने रुपन्देहीले पनि पक्राउ पूर्जी जारी गरेको अवस्था छ।

त्यहाँमाथि सम्पत्ति शुद्धिकरण विभागले पनि रविमाथि छानबिनका लागि पत्र लेखिसकेका कारण यो कानुनी प्रक्रिया लम्बिने स्थिति छ। 464522166_10212498946746606_1127798039998198163_n-1729834048.jpg
यस्तो अवस्थामा उनले कार्यबाहक सभापतिको जिम्मेवारी दिएर पार्टीको आधिकारिक निर्णय र काम गराउनका लागि दुई उपसभापति मध्य एकलाई रोज्नुपर्ने थियो। तर, रोजेका छैनन्। 

दोस्रो कारणचाहिँ रास्वपामा को बरिष्ठ उपसभापति हो भन्ने नै निक्र्यौल भएको छैन। यो छैन भन्दा पनि नगरिएको नै हो। डीपी अर्याल स्थापनाकालका उपसभापति हुन् भने बरिष्ठता र अध्ययनका कारण स्वर्णिम वाग्लेको कद नै कार्यबाहक सभापतिको जिम्मेवारीमा पुग्ने देखिन्छ। 

समानान्तर उपसभापतिमा विवाद आउने देखेका कारण कार्यबाहक सभापतिको जिम्मेवारी नदिएको हुन सक्ने पनि देखिन्छ। 

तर तेस्रो र अन्तिम कारणले त्यस्तो निचोड निकाल्दैन। जब पहिलो पटक गृहमन्त्री पदबाट च्युत भएपछि नागरिकता प्रकरणले रविको सांसद पनि खारेज भयो उनले त्यसबेला न सभापतिको कार्यबाहक जिम्मेवारी डीपी अर्याललाई दिए, न त संसदीय दलको कार्यबाहक नेतामा विराजभक्त श्रेष्ठलाई ल्याए। 

‘जानी नजानी हो या के हो एक हिसाबले रविसँग व्यक्तिवादको जुन दम्भ छ, त्यसले पार्टीगत जिम्मेवारी दिने या निर्णय गराउन सक्ने शैली र आचरण छैन’, रास्वपाका एक सदस्य भन्छन्,‘यो आचरण सुधार गरी संस्थागत शैलीमा नै जानुपर्छ भन्ने मान्यता हुनुपर्ने हो। तर, यतिबेला बोल्ने अवस्था भएन।’
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्