Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्रिकेट

शिखर धवन र सुरेश रैनासहित १५ भारतीय क्रिकेटर खेल्न चहान्छन् एनपीएल, डिमान्ड चर्को

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– नेपालकै सबैभन्दा महँगो बनिरहेको क्रिकेटको घरेलु प्रतियागिता नेपाल प्रिमियर लिग (एनपीएल)का लागि भारतीय चर्चित क्रिकेटरले समेत नाम पठाएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)लाई भारतीय पूर्वओपनार शिखर धवनसहित सुरेश रैना, दिनेश कार्तिकलगायतले नाम पठाएका हुन्। क्यानले उक्त नामहरु एनपीएलमा सहभागी हुने आठ वटै क्लबलाई पठाइसकेको छ। 

तर शिखर धवन र सुरेश रैनाको पारिश्रमिक डिमान्ड उच्च छ। उनीहरूले तीन करोड भारु माग गरेका छन्। एनपीएल अवधिभर खेल्नेगरी उक्त रकम पारिश्रमिकमा माग गरिएको हो।

यी तीनसहित १५ खेलाडी एनपीएलमा सहभागी हुन चहान्छन्। 

एनपीएल खेल्न इच्छुक अन्य भारतीय खेलाडीमा रोविन उत्थप्पा, मोहम्मद कैफ, अम्बाति रायडु, केदार जादव, स्टुअर्ट बिन्नी, अमित मिश्र, विनय कुमार, प्रज्ञान झा, प्रविन तेम्बे, आरपी सिंह, मनिन्दर विस्ला र इकबाल अब्दुल्ला रहेका छन्। 

यी सबै खेलाडी भारतीय राष्ट्रिय टीमबाट रिटायर्ड भइसकेका छन्।

क्यानका अनुसार ५० हजार डलरभन्दा बढी तोक्नेलाई ‘ए’, २५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘बी’ र ५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘सी’ श्रेणीमा राखेर वर्गीकरण गरिएको छ। 

अधिकांश फ्रेन्चाइजहरु ‘बी’ र ‘सी’ श्रेणीका विदेशी खेलाडीका लागि लागिरहेका छन्।

एनपीएल नेपालकै एक प्रतिष्ठित क्रिकेट प्रतियोगिता बन्ने लगभग पक्का भएको छ। यसले नेपालमा खेलाडी जन्माउनका लागि ठूलो मद्दत गर्नेछ। 

विश्व क्रिकेटमा आन्तरिक तथा घरेलु लिगमा भारतको आईपीएल महँगो मानिन्छ। आईपीएलमा राम्रो टोलीको कप्तानी गरिसकेका खेलाडीले एनपीएलमा रुची देखाउनुलाई महत्वका साथ हेरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्