Nic Ad Nic Ad
Nic Ad Nic Ad

६० किलो सुन तस्करी प्रकरणका ७ अभियुक्त धरौटीमा रिहा

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ७ जना अभियुक्त सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् । जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएका मध्ये ७ जना सर्वोच्चको आदेशपछि रिहा भएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ साउन २०८० मा बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेर मुद्दा चलेका मध्ये ७ जना रिहा भएका हुन् ।रिहा हुनेहरूमा दोलखाका ४४ वर्षीय किशोर बस्नेत, काठमाडौँका ५८ वर्षीय कुमार ढकाल, कैलालीका ५० वर्षीय सन्तोष चन्द, काठमाडौँकै ५० वर्षीय सरोज श्रेष्ठ, खोटाङका ४६ वर्षीय राजेन्द्र कुमार राई, दोलखाका ५४ वर्षीय रामकुमार भुजेल र शिवकुमार सरार्फ छन् ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको आदेशले ११ असोजमा उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर रिहा भएका हुन् ।

केन्द्रीय कारागार सुन्धारामा रहेका किशोर बस्नेत १४ असोजमा २ लाख धरौटी बुझाएर रिहा भएका थिए । शिवकुमार सर्राफ ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

सन्तोष चन्द पनि असोजमै ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । कुमार ढकाल ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । रामकुमार भुजेल २ लाख, सरोज श्रेष्ठ २ लाख र राजेन्द्र कुमार राई २ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

धरौटी नबुझाएका पर्साका ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ अहिले सुन्धारा कारागारबाट ३ कात्तिकमा डिल्लीबजार कारागार सरुवा भएका हुन् ।

सुन तस्करी प्रकरणमा उनीहरूलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्