Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुरको चिडियाखानामा अब ‘कञ्चन’ हिउँचितुवा अवलोकन गर्न पाइने

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब हिउँचितुवा पनि अवलोकन गर्न पाइने भएको छ ।

झण्डै एक वर्ष अघि मोरङको उर्लाबारी नगरपालिकामा फेला परेको हिउँ चितुवालाई आजदेखि चिडियाखानामा अवलोकनका लागि राखिएको हो । वन मन्त्री ऐनबहादुर शाहीले शुक्रबार अपराह्न हिउँ चितुवा अवलोकनको शुभारम्भ गरेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्रमा विचरण गर्ने क्रममा उर्लाबारी पुगेको अनुमान गरिएको यो हिउँ चितुवालाई चिडियाखानाले ‘कञ्चन’ नामकरण गरेको छ ।

समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा २०८० साल माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्रमा फेला परेको थियो ।

समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा रहेको चारघरेको बाँसघारीमा फेला परेको उक्त हिउँ चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेहोस बनाएर उद्धार गरी ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याएको थियो ।

त्यतिबेला पछाडिको वायाँखुट्टाले टेक्न असहज अवस्थामा उद्धार गरिएको सो हिउँ चितुवालाई पशु चिकित्सकले निरन्तर रेखदेख र उपचार गरेका थिए । अहिले पूर्ण रूपमा स्वस्थ भएकोले अवलोकनका लागि राखिएको सदर चिडियाखानाले जनाएको छ । त्यसको बासलाई सुरक्षित वातानुकुलित वातावरणमा राखिएको अधिकारीहरूले बताएका छन् ।

नेपालमा हिउँ चितुवा खासगरी पूर्वमा कञ्चनजंघादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रमा पाइन्छ । नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वास्थ्य पारिस्थितिकीय प्रणालीको सूचक एवम् प्राकृतिक खाद्य श्रृंखलाको उच्च तहमा रहेको प्रजाति हो ।

नेपालमा सामान्यतया ३ हजारदेखि ६ हजार मिटरसम्मको उचाइमा पाइने यस प्रजातिको हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्र तथा आसपासमा करिब १३ हजार वर्गकिलोमिटरमा बासस्थान रहेको छ ।

विश्वमा हिउँ चितुवाको संख्या ३ हजार ९२१ देखि ६ हजार २९० सम्म रहेको अनुमान छ । नेपालमा ३०१ देखि ४०० वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिन्छ ।

हिउँ चितुवालाई आई.यू.सी.एनको संवेदनशील वर्गमा र साइटिसको अनुसूची १ मा राखिएको छ । नेपालले पनि यसलाई संरक्षित सूचीमा राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्