Nic Ad Nic Ad
Nic Ad Nic Ad

के माओवादी सभामा रवि लामिछानेको समर्थनमा प्रचण्डको आवेग आउला?

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– पूर्वघोषित कार्यक्रमअनुसार सरकारको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ। यो सभाबाट त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षमा नै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्राउको बिरोधमा बोल्नेछन् भन्ने अनुमान पनि गरिएको छ। 

निरन्तर सडकमा रहेको रास्वपाले काठमाडौंमा हुने प्रदर्शन स्थगित गर्नुको एउटा कारण त्यो पनि हुन सक्ने अनुमानहरू गरिएका छन्। रास्वपा शनिबार चितवन केन्द्रित प्रदर्शनमा रहनेछ।

लामिछानेका पक्षमा प्रचण्डले बोल्नुपर्ने एकातिर नैतिक विषय पनि बन्नेछ। किनभने लामिछाने पक्राउ गरिएको कात्तिक २ गतेका दिन प्रतिपक्षी दलको बैठक बसी एउटा कार्यदल गठन भएको थियो र त्यसले प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति रामचन्द्र पौडेललाई समेत संयुक्त रुपमा भेटेर छलफल गरिसकेको छ। 

मूलधारमा माओवादीको भूमिका संख्याका आधारमा भन्दा पनि उसले तय गरेको राजनीतिक उचाईको हिसाबमा प्रभावकारी नै छ। यस समयमा सहकारी ठगी प्रकरणको सन्दर्भमा अनुसन्धानका लागि पक्राउ गरिएका रास्वपा सभापति रवि लामिछानेका पक्षमा प्रचण्डको आवेग कस्तो रहला?

जबकि माओवादी नेता लेखनाथ न्यौपानेले भनेका छन्,‘माओवादीले अहिले रवि लामिछानेलाई बोक्नु उचि हुनेछैन, राज्य संयन्त्रको काम कारबाहीमा दखलअन्दाजीका भाषा माओवादीले बोल्ने बेला होइन।’

तर माओवादीले पत्रकार सम्मेलन गरी सरकारले सहकारी ठगी प्रकरणमा सत्तारुढ दलसँग आवद्ध व्यक्तिलाई जोगाउने र प्रतिपक्षीलाई छानी छानी कारबाहीको दायरामा ल्याउने गरेको आरोप लगाएको थियो। 

उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले भनेका थिए,‘सत्ता पक्ष व्यक्ति छानेर कारबाहीको प्रक्रियामा सक्रिय भएको छ। यो उसको नियतसँग जोडिने विषय हो।’

प्रदर्शनी मार्गमा हुने सभामा प्रचण्ड कुन हिसाबमा प्रस्तुत हुनेछन् भन्ने मध्यान्न देख्न पाइने छ। तर, माओवादी महासचिव देव गुरुङले भनेका छन्,‘कारबाही प्रक्रियामा असन्तुष्टि होइन तर विपक्षी मात्र छानेर कारबाही गरिनु उपयुक्त होइन।’

त्यसो त सरकारले सहकारी ठगी प्रकरणमा हालसम्म ५२० जना बढीलाई कारबाही प्रक्रियामा ल्याइसकेको सार्वजनिक गरेको थियो। प्रधानमन्त्री ओलीले सय दिनका अवसरमा दिएको जानकारी र वक्तव्यमा त्यो उल्लेख छ। 

तर माओवादीले यो सरकारका गतिविधि, सय दिनमा नै असफल भएको विषयमा भने जोडदार रुपमा चर्चा गर्नेछ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्