छविलाल पक्राउ पर्नासाथ राष्ट्रपतिका सल्लाहकारलाई रवि लामिछानेले ‘माइल्ड थ्रेट’ दिएका थिए!
काठमाडौं– गत असोज ६ गते पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई सहकारी ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेपछिका घटनाक्रमका विवरण र संलग्नताका नयाँ किस्साहरूमा रास्वपा सभापति रवि लामिछाने निरन्तर जोडिएका परिघटना सतहमा आएका छन्।
पछिल्लो पटक सहकारी ठगी समूहको गिरोह जीबी राई, छविलाल बन्जाडे जोशीलगायतले खोलेको कम्पनीमा पनि राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको नाम जोडियो।
जीबी समूहको पनि कानुनी सल्लाहकार उनै रहेको विषय सतहमा आएपछि केही विषयबारे कुँवरले टिप्पणी गरेका छन्।
कुँवरले भनेका छन्,‘जब छविलाल पक्राउ परे अनि मलाई रवि लामिछानेले माइल्ड थ्रेट गर्न थाले।’
तर यति भनिरहँदा सार्वजनिक रुपमा उठेका उनीमाथिका प्रश्नलाई एकातिर पन्छाउँदै राजीनामा नदिने स्पष्ट बताइसकेका छन्।
विगतमा आफू हाल प्रहरी हिरासतमा रहेका जोशी र फरार भनिएका राईले चलाएको एउटा कम्पनीको कानुनी सल्लाहकार रहेको भए पनि संस्थाको अन्य कुनै पनि गतिविधिमा संलग्न नरहेको उनको दाबी छ।
बरु छविलाल पक्राउ पर्नासाथ लामिछानेले आफूसित सहयोग खोजेको बताए। तर, कानुनी प्रक्रिया, संसदीय छानबिन समितिले निकालेको निचोडका आधारमा सघाउनका लागि सुझाव दिएको पनि कुँवरको कथन छ।
‘पक्राउ पर्नुअघि रवि लामिछानेको बारम्बार फोन गरेर मलाई माइल्ड थ्रेट दिनुभयो,“ उनलाई उदृत गर्दै बीबीसी नेपाली न्यूजले समाचार प्रकाशित गरेको थियो।
उनले आफूले लामिछानेलाई कानुनी प्रक्रियामा गइसकेको विषयमा त्यसैअनुसार अघि बढ्न सुझाव दिएको तर उनले लगातार फोन गरेको पनि बताए।
लामिछानेलाई आफूले दिएको जबाफ भन्दै उनले भने, ‘सार्वभौम नेपाली जनताले छानेको संसदीय समितिले छानबिन गरेर प्रतिवेदन संसद्बाट सरकारलाई पठाएको र मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिकारप्राप्त अधिकारीकहाँ त्यो पठाइसकेपछि तपाईँ यस्तो कुरा गर्नुहुन्छ? भनेर दुई–तीन चोटि भनें।’
हाल फरार रहेका भनिएका जीबी राईले चलाएको कम्पनीमा कुँवर कानुनी सल्लाहकार थिए भन्नेबारे केही सञ्चारमाध्यमले लेखेपछि सहकारी ठगी मामिलामा उनको नाम पनि मुछिन पुगेको थियो।
कुँवरले राई र जोशीसमेत सञ्चालक रहेको ‘नेचर हर्ब्स’ नामको कम्पनीमा कुनै बेला आफू कानुनी सल्लाहकार रहेको स्वीकारेका छन्।
यस विषयमा संसदीय छानबिन समितिका सभापति सूर्य थापाले पनि प्रश्न गरेका थिए। छानबिनका दौरान कुँवरको नाम नआएका कारण प्रतिवेदनमा उल्लेख नभएको बताउँदै त्यसबेला कसैले प्रश्न नउठाएको तर उठाएको भए समितिले प्रतिवेदनमा राख्न सक्ने आशयमा सामाजिक सञ्जालमा लेखेका थिए।
कुँवरले आफूमाथि नैतिक प्रश्न उठाउने संसदीय छानबिन समितिका सभापतिलाई पनि छानबिनका क्रममा किन नबोलाएको त? भन्ने प्रतिप्रश्न गरेका थिए।
लामिछानेले कुँवरलाई निरन्तर फोन गरेका हुन् त भन्ने विषयको प्रतिक्रिया लिन सम्भव भएन। उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका कारण प्रतिक्रिया लिन सम्भव नभएको हो। तर, यस विषयमा अनुसन्धानका क्रममा पत्ता लाग्न सक्ने प्रहरी अधिकारी बताउँछन्।