Nic Ad Nic Ad
Nic Ad Nic Ad

खबरदारी सभा : अग्नि सापकोटा भन्छन् सरकार दलाल, पुँजीपति व्यापारीले बनाइदिएको पुष्टि भयो

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ - माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सापकोटाले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको बताए । जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको पनि उनले बताए । 

उनले सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको बताए । माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताए । 

असोज ७ गतेदेखि मौसम विभागले दिएको सूचनालाई सरकारले बेवास्ता गरेका कारण देशमा ठुलो जनधनको क्षति भएको बताए । उनले पटक पटक संसद् विघटन गर्ने पार्टीले लोकतन्त्रको दुहाई दिन नसुहाउने भन्दै फेरि दल फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाए । उनले अहिले सरकारलाई काठमाडौँबाट खबरदारी गरे पनि सरकारले सुनेन भने देशव्यापी रूपमा खबरदारी गर्न तयार रहेको उल्लेख गरे । सरकारले भ्रष्टाचारी र बिचौलियालाई संरक्षण गरेको बताए ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्