Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ

शनिबार, कात्तिक १०, २०८१

तनहुँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय स्थल ऐनापहराको आज भ्रमणपछि महासचिव गुरुङले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिए । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको जनाउँदै महासचिव गुरुङले पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले गरेको कार्य प्रशंसनीय रहेको बताए । गाउँपालिकाले ऐनापहरामा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने खालका गतिविधि बढाएकामा उनले खुसी व्यक्त गरे ।गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार निर्माण गरिएको जानकारी गराए । चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा लागिएको बताए । उनका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको चुमानको भनाइ छ ।

उनले भने, “यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु. एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार