कोप-२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रूपमा उठाइनेछ: प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रूपमा उठाइने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप-२९ सम्मेलनमा सशक्त रूपमा आवाज उठाउने बताए ।वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप-२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ । कोप-२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरू जोगाउनु र देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।