Nic Ad Nic Ad
Nic Ad Nic Ad

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउने गरी सरकारले काम गरिरहेको छ: सञ्चारमन्त्री गुरुङ

शनिबार, कात्तिक १०, २०८१

लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताएका छन् । उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्ने गरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारे ।

लमजुङ बेँसीसहर नगरपालिका-२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताए । उनले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्‍याउन सरकारले लागिपरेको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर भएकाले गाउँ गाउँमा सेवा पुर्‍याउन प्रतिबद्ध छ । उपचार सेवा कसरी सस्तो बनाउन सकिन्छ, शुल्क घटाएर वा सरकार आफैँले बेहोरेर भन्ने विषयमा छलफल भइरहेको छ ।”

जनताको जीवन बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता राखिएको स्पष्ट पारे । उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेतर्फ सरकार लागिरहेको जानकारी दिए । 

शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी भए पनि यस क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै मन्त्री गुरुङले बसाइँ सराइलगायतका कारण गाउँगाउँका विद्यालयमा विद्यार्थी टिकाउन समस्या भइरहेकाले त्यसका लागि सरकारले आकर्षक योजना ल्याउने उल्लेख गरे ।

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नवनिर्मित स्वास्थ्य चौकी भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । उनले अभिभावकले आफ्ना छोराछोरीका लागि पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।

स्थानीय सुनसरी गुरुङले निःशुल्क जग्गा दान गरेको सात रोपनी सात आनामा स्वास्थ्य चौकी भवन निर्माण भएको स्वास्थ्य चौकी प्रमुख राजेश दुलालले जानकारी दिए । उनको अनुसार संघीय सरकारको एक करोड ८० लाख रुपैयाँमा करिब तीन वर्ष लगाएर निर्माण भएको छ ।

यस स्वास्थ्य चौकी भवनबाट गर्भवती सेवा, सुत्केरी सेवा, खोप, थेरापी उपचार, मलेरिया रोगको निदान, परिवार नियोजन सेवालगायतको रहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्