Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाबुरामले भने - बालेन रहस्यमयी पात्र हुन्

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ । 

‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’, शनिबार राजधानीमा आयोजित प्रमुख सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा भट्टराईले भने, ‘उनी हेर्दा पपुलर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो  देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’

यद्यपि देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उनको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताए ।  

जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त कतिपय उपलब्धि अझै पनि संस्थागत हुन नसकेको उल्लेख गर्दै भट्टराईले त्यसलाई जोगाउनका लागि पनि आफ्नो चाहना अग्रगामी शक्तिहरूसँग मिलौँ भन्ने रहेको उनको भनाइ छ ।  यद्यपि आगामी निर्वाचनमा जस्तोसुकै वैकल्पिक शक्ति निर्माण भए पनि एउटैको चाहिँ बहुमत आउन सक्ने आफूलाई नलागेको उनको भनाइ थियो । ‘तर, एलाइन्स वा गठबन्धन बनाएर हुन्छ कि भन्ने मेरो सोच त्यस्तो छ’, उनले भने, ‘एजेन्डा सेट  गरेर वैकल्पिक राजनीति स्थापित गर्ने र त्यसका वरिपरि गठबन्धन गर्न सकिन्छ कि भन्ने हो ।’


 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्