Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए । देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए ।

साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्य विभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्यांकन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।

कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी हुन् । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्यांकन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा संगठनिक कार्य विभाजनको गृहकार्य तथा परामर्श गरिरहेको सचिव पाण्डेयले बताए ।

कार्य विभाजन गर्नु अघि पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्य विभाजन गरिने जनाइएको छ । समान विचारधारा भएका, कम्युनिष्ट पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए ।

कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी पार्टीबीच एकीकरणको गृहकार्य भइरहेको, नेता गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख जस्ता विषयमा लिखित प्रतिबद्धता माग गरेपछि थप छलफल गरी निष्कर्षमा पुग्ने गौतमले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्