Nic Ad Nic Ad
Nic Ad Nic Ad

अखाद्य रसायन मिसाएर लड्डु बनाउने दुई उद्योग शील

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ- वीरगन्जमा दीपावली पर्वलाई लक्षित गरी अखाद्य वस्तुबाट लड्डु बनाएर मिठाइ पसल तथा होटेलहरूमा आपूर्ति गर्दै आएका दुईवटा लड्डु उद्योगमा बजार अनुगमन समितिले आइतबार छापा मारेर सिल गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज-११ श्रीपुर र वीरगन्ज-१० रानी घाटमा लड्डु बनाउने उद्योगमा आइतबार छापा मारेर सिल गरेको हो ।श्रीपुर र रानी घाटमा घर भाडामा लिएर भारतीय नागरिकले सञ्चालन गरेका उद्योगमा छापा मार्ने क्रममा अखाद्य रसायन (केमिकल) र रंग तथा बेसनको सट्टा कनिका र गहुँको पिठोबाट लड्डु बनाउँदै गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

श्रीपुरमा भारत बिहारको जमुई जिल्लाका निरज यादवले र रानी घाटमा बिहार जमुईकै वीरेन्द्र यादवले घर भाडामा लिएर नेपाल सरकारको अनुमित बेगर लड्डु बनाइरहेको भेटिएको बताइएको छ ।

सोधपुछका क्रममा ती भारतीय नागरिकले उत्पादन गरेको कमसल गुणस्तर र अखाद्य लड्डु वीरगन्जका मिठाई पसल र होटेलहरूमा प्रतिकिलो १ सय ५० रुपैयाँमा बेच्ने गरेको बताएका छन् । 

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नै नगरी सञ्चालन गरिएका तथा अखाद्य लड्डु उत्पादन गरिहरेका दुवै उद्योगमा अनुगमन समितिले सिल गरेको हो । यसका साथै श्रीपुरको उद्योगका सञ्चालक निरज यादवलाई २० हजार रुपैयाँ जरिवाना पनि गरिएको  छ। अर्का रानी घाटका सञ्चालक वीरेन्द्र यादवलाई भने थप कारबाही के गर्ने भन्ने बारेमा अनुगमन समितिको बैठक बसेर निर्णय गर्ने जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्