Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोदावरी पुष्प मेलामा १ करोड १८ लाखको कारोबार

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं - ललितपुरको जावलाखेल मैदानमा चलेको १७औं गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ ।

चार दिनदेखि चलेको मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

एशोसिएसनको आयोजनामा कात्तिक ८ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको हो । दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन (शनिबार) १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाखको कारोबार भएको थियो भने आइतबार अन्तिम दिनमा ११ हजारले अवलोकन गर्दा २८ लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण भएपनि लक्ष्यभन्दा बढी कारोबार र अवलोकनकर्ताको भएको मेला संयोजक रामबहादुर तामाङले बताए ।

पुष्प व्यवसाय प्रवर्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । मेला अवधिभर अवलोकनकर्ताले सबैभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए । इन हाउस ग्रीन प्लान्टको पनि बिक्री राम्रै देखिएको उनले बताए ।

मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरू आएका थिए ।

चार दिने मेलामा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीरुका लागि सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रर्दशनी कक्षहरु रहेका थिए । विगत वर्षमा झै यसवर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ)मा प्रतिस्पर्धा गराएको थियो ।

नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरूलगायतका अन्य क्षेत्रमासमेत फैलदो अवस्थामा रहेको छ । हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी अनुमानित ५१ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार रहेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा वर्षभरी कोभिड महामारीको कारण पुष्पको व्यवसायिक कारोबारमा कमी आई जम्मा १ अर्ब ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८/०८९ मा कोभिडको असर केही कम हुँदा पुष्पको वार्षिक कारोबारमा केही वृद्धि भएको थियो ।

गत आथिक वर्ष ०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यसै आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात् कारोबार एक करोड २ लाख १२ हजार रुपैयाँ भएको छ भने आयाततर्फ २७ करोड ७९ लाख ५ हजार रुपैयाँको कारोबार रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्