Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

सोमबार, कात्तिक १२, २०८१

चितवन- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समीकरण बनेको उनको भनाइ थियो ।उपप्रधानमन्त्री सिंहले भने, “विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।”

फरक प्रसङगमा उनले काँग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । “पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्त्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो”, उपप्रधानमन्त्री सिंहले भने । नेपाली काँग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्म अनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढंगबाट अगाडि बढाउन काँग्रेस सक्षम रहेको बताए । यसका लागि सबै संगठित भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । सो अवसरमा नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, महिला विभाग सदस्य कलावती भट्टराईलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्