Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग

सोमबार, कात्तिक १२, २०८१

झापा- नेपालीहरूको दोस्रो ठूलो चाड, फूलहरूको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो ।

बिर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् । “यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे”, उनले भनिन्, “सोच जति फूल फुलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो ।”

भण्डारीले विगतमा जस्तै फूलको एक महिना अघिदेखि माग आइरहे र उत्पादन कम भएकाले पुर्‍याउने अवस्था नरहेको बताइन् । यहाँ प्रतिकेजी रु तीन सय ५० का दरले फूलको मूल्य तोकिएको छ । 

तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरूले धेरै मन पराउने फूलमा पर्छ । सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ । नेपालमा भने यसको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरू बताउँछन् । पुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन यहाँका किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताउछिन् । 

विगतमा जिल्लामा २० बिघा भन्दा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कट्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्