Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ महिलामा नेपाल–भारत खेलः दशरथ रङ्गशाला ठूलो दुर्घटनाबाट यसरी जोगियो

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं– साफ महिला फूटबल अन्तर्गतको नेपाल–भारत दोस्रो सेमिफाइनल खेलका कतिपय परिघटनाका कारण दशरथ रंगशाला आइतबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ।

९० मिनेटको फूटबल खेल १८० मिनेटसम्म पनि नसक्किने स्थितिमा अम्पायर, खेलाडी र एन्फाका गैरजिम्मेवार पदाधिकारीका कारण १८ हजार घरेलु दर्शक मैदानमा उत्रिने स्थिति मात्र बन्ने लयमा थिएन नेपाली महिला टोली नै फिफा कारबाहीमा समेत पुग्नुपर्ने अवस्थाबाट जोगिएको छ।

खेलमा देखिएका बिरोधाभाषका कारण नेपाली समर्थकहरूले पटक–पटक संयमता गुमाउने अवस्था अन्ततः नियन्त्रणमा पुग्यो। विवादले खेल धेरैबेर रोकियो। 

५१औं मिनेटबाट खेलमा विवादको सुरुआत भएको थियो। नेपालकी उत्कृष्ट स्ट्राईकर रेखा पौडेललाई अम्पायरले दोस्रो पहेँलो कार्ड  देखाउँदै मैदानबाट बाहिरिन आदेश दिइन्।

रेखा पौडेलले रातो कार्ड पाउनासाथ उत्तेजित नेपाली समर्थकहरूले बोतल प्रहार गर्न थाले जसका कारण खेल केही समय रोकियो। 

केही बेर रोकिएको खेल सुरु हुनासाथ नेपालको जालीमा भारतले एक गोल हान्यो। भारत १–० को अग्रसरतामा खेलिरहेको थियो। 

अर्को लामो विवाद र दुर्घटना हुने अवस्थाको कारण सोही गोलपछि बन्यो। एकातिर रेखाले रातो कार्ड बिना कारण पाएको र अर्कातिर गोल खाएपछि अम्पायरले खेल सुचारु गर्नासाथ प्रिती राईले भारतको जालीमा हानेको बराबरी गोलले मान्यता नपाएपछि विवाद चरम स्थितिमा पुग्यो। 

अम्पायरको सिटीसँगै सुरु भएको खेलमा साबित्रा भण्डारी साम्बाले बल अगाडि बढाईन् र उनको पासमा प्रिती राईले गोल गरेक थिइन्। 

त्यसपछी सुरु भएको थियो मैदानमा समर्थकहरूको असली वितण्डा।

दर्शकहरूले मैदानका विभिन्न कोणबाट पानीका बोतल, कोकका बोतल, क्यान र जुसका बोतल, जे भेटिन्छ त्यही प्रहार गर्न थालेका थिए। भिडबाट एक बुट जुत्ता समेत मैदानमा बजारिएको थियो।

थोरै संख्यामा परिचालित सुरक्षाकर्मीले उक्त भिडलाई सम्हाल्न सक्ने त के तिनका हर्कतलाई समेत सहनुको विकल्प देखिएको थिएन।

सुरक्षाकर्मीहरूले पनि माईकमार्फत त्यसो नगर्न बारम्बार आग्रह गरिरहेका थिए। भलै भुटानकी अम्पायर ओम चुकी निर्णयहरू विवादित बनेका थिए होलान् तर नेपाली समर्थकहरूको उत्तेजना कम भने थिएन। 

फूटबलमा अम्पायरको सिठी नै सबैभन्दा महत्वपूर्ण मानिन्छ। अम्पायरले सिठी बजाइसकेपछि सबैजना खेलमै हुनुपर्छ, कुन टिमका खेलाडी कहाँ छन् भन्नेले अर्थ राख्दैन। त्यसैले उक्त गोललाई मान्यता नदिनु अम्पायरको ठाडो गल्ती भएको मान्छन् फूटबलका विश्लेषकहरू।

एएफसीका प्रतियोगिताहरूमा काम गरिसकेका गौरव थापा भन्छन्,‘खेलाडीहरू तयार नभइकन अम्पायरले खेल सुचारु गराउन सक्छन्? सरल जवाफ हो– सक्छन्। यदि कुनै टिमले खेलमा फर्किन ढिलाइ गरे वा लामो समय सेलिब्रेट गरिरहे भने यस्तो हुन्छ। हिजोको घटनामा अम्पायरले नेपाललाई स्पष्टरुपमा खेल सुचारु गर्न अनुमत दिएका छन्। विपक्षी खेलाडीहरू तयार थिए कि थिएनन् भन्ने नेपालको सरोकार होइन। फूटबलमा भन्ने गरिन्छ– ह्वीसलअनुसार खेल । त्यसैले छोटकरीमा– नेपालको गोल कायम रहनुपर्थ्यो।’

उनले अगाडि भनेका छन्,‘यो खेलमा अम्पायरले गल्तिमाथि गल्ति गरिन् र खेललाई नै झण्डै बर्बाद बनाइदिइन्।’

यदि अम्पायरबाट गलत निर्णय भएको छ भने त्यसमा खेलपछि उजुरी गर्न सक्ने वा कारबाहीमा पर्न सक्ने हुन्छ। तर, खेलका क्रममा टीमले जतिसुकै प्रतिरोध गरेता पनि अम्पायरको निर्णय बदलिएका उदाहरण धेरै कम छन्। त्यसैले खेलाडीहरूले लामो समयमा खेल रोक्नुको कुनै तुक थिएन।

यो निर्णय बाहेकपनि अम्पायरले पहिलो हाफमा नेपालले पाउनुपर्ने एउटा निश्चित पेनाल्टी खारेज गरेकी थिइन्। यसमा पनि विवाद आउने सम्भावना थियो। 

नेपालको प्रोटेस्ट अझै लम्बिएको भए पनि भारतले जितेको घोषणा गर्न अम्पायरलाई बाधा थिएन। त्यो अवस्थामा नेपालले फाइनल सम्भावना मात्रै गुमाउने थिएन, भविष्यमा कारबाहीको भागिदार पनि बन्नुपर्थ्यो। टीम निलम्बनमा पर्न सक्थ्यो।

घरेलु टोलीका विरुद्ध सो निर्णय गर्नु पनि अम्पायर र म्यानेजमेन्टका लागि सानो चुनौतिको विषय थिएन किनभने दशरथ रङ्गशालामा अत्यधिक ठूलो भीड थियो र कमजोर व्यवस्थापनका कारण रंगशालामा सुरक्षा खतरा पनि थियो।

यदि नेपालले नखेलेर भारतलाई विजयी घोषणा गरिएको भए रंगशालामा उपस्थित हजारौं दर्शक उत्तेजित भएर मैदानमा उर्लिन सक्ने र अप्रिय अवस्था उत्पन्न हुन सक्थ्यो । यसलाई नियन्त्रण गर्न सक्ने सुरक्षा व्यवस्था रंगशालामा थिएन।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले सुरक्षा व्यवस्थामा चरम लापरबाही गरेको आरोप समेत लागेको छ। 

मैदानमा न्यून सुरक्षाकर्मी परिचालनका कारण दर्शकले भुटानी अम्पायरमाथि बोतल प्रहार गरेको आरोप छ।  यस्तै, भारतीय प्लेयर बक्समा पनि बोतल फालिएको थियो।

यस्तो प्रतियोगिताको दौरान एन्फा अध्यक्ष र महासचिव कोरियामा छन्। कतिपय फूटबलका महारथी भन्छन्,‘सुरक्षाको विषय, विवादको विषय आउन सक्छ भनेपछि शक्तिशाली पद लिएका निर्णयकर्ता प्रतियोगिता राखेर विदेश घुम्न मिल्छ?’

एन्फाभित्र अध्यक्ष र महासचिव नै सर्वेसर्वा हुन्छन्। 

यो स्थितिलाई राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलगायत केहीले नियन्त्रणमा ल्याउन सम्भव पारेका थिए। उनलाई खेलाडी संघका अध्यक्ष विक्रम लामाले सहयोग गरेका थिए। 

दुवैले साबित्रा भण्डारीसँग कुराकानी गरेपछि नेपाली टोली मैदानमा फर्कियो र स्थिति केही सरल बन्न पुगेको थियो। 

एन्फाका पूर्वअध्यक्ष गणेश थापा भन्छन्,‘एन्फा अध्यक्ष र महासचिव विदेशमा रहेको तथा एन्फा निरिह भएको बेलामा नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र खेलाडी संघका अध्यक्ष विक्रम लामा लगायतको प्रयासबाट खेल पुन सञ्चालन भएको थाहा पाएँ। ठूलो दुर्घटनाबाट नेपाली फूटबललाई जोगाएकोमा किरण, विक्रमलाई लगायत सबैलाई  धेरै धेरै धन्यवाद। नेपाली महिला राष्ट्रिय खेलाडीहरको साहस, धैर्यता र उत्कृष्ट प्रदर्शन को सिङ्गो नेपालले गौरवको महसुस गरेको छ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्