Nic Ad Nic Ad
Nic Ad Nic Ad
युगिन् साबित्रा

एक युगमा एक पटक जन्मिने ‘साम्बा’

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं– गोपाल प्रसाद रिमालले आफ्नो एउटा कवितामा भनेका छन्– 

‘एक जुगमा एक दिन एक चोटि आउँछ
उलट पुलट, उथल पुथल, हेरफेर ल्याउँछ

साहित्यकार गोपालप्रसाद रिमालको यो लाइन नेपाली महिला खेलाडी साबित्रा भण्डारीको लागि मिल्दो जल्दो छ। साबित्रा भण्डारी यस्तो खेलाडी हुन् जो एक जुगमा एक पटक जन्मिने गर्छिन्, देश ,समाज र मान्छेका मानसिकतामा उलट पुलट, उथल पुथल, हेरफेर ल्याउँछिन्।

साबित्रा अहिले एउटा खेलाडी मात्र होइनन्, एउटा विचार पनि हुन् । केही समय अगाडीसम्म पनि नेपाली समाजमा एउटा महिलाले म फूटबललाई आफ्नो करियर बनाउँछु भन्न सक्ने सम्मको स्थिति समेत थिएन। त्यो अहिले पनि छैन। तर पछिल्लो समय साबित्रा भण्डारीले हासिल गरेको उपलब्धिले नेपाली समाज महिला फूटबल प्रति खुकुलो भएको देखिन्छ। 

अभिवाकहरूमा फूटबल खेलेर पनि नाम र दाम कमाउन सकिन्छ भन्ने भाष्य साबित्राले स्थापित गरिरहेकी छिन्।

उनी मैदानमा फूटबल मात्र खेलिरहेकी छैनन्, उनी आगामी पुस्ताका खेलाडीलाई प्रेरित र आशा समेत देखाइरहेकी छिन्।

फेरि उनले यो नेपालमा मात्र होइन समग्र दक्षिण एसियाली फूटबलको लागि गरिरहेकी छिन्। साबित्रा अहिले दक्षिण एसियाको देशका लागि सबैभन्दा धेरै गोल गर्ने मध्येको खेलाडीमा नम्बर १ मा छिन्। उनले भारतका बाला देवीजस्ता खेलाडीलाई समेत पछि पारेकी छन्। मैदानमा खेल सकिएपछि दक्षिण एसियाका प्रतिद्वन्द्वी खेलाडी र टिम अफिसियलहरुले साम्बालाई गर्ने सम्मान फरक छ। 

आइतबार भएको भारतविरुद्धको सेमिफाइनल खेलमा भारतका प्रशिक्षक र टिम व्यवस्थापकले साबित्रालाई अङ्कमाल गर्दै विशेष सम्मान दिएका थिए। भारतका खेलाडीहरूले पनि उनलाई बधाई र अङ्कमाल गरिरहेका थिए। साबित्रा पनि निराश भइरहेका खेलाडीहरूको हौसला बढाइरहेकी थिइन्।

दक्षिण एसियाली फूटबलमा आफ्नो छाप छोड्दै अहिले उनी एसिया र युरोपियन लिगहरूमा समेत आफ्नो प्रभाव बनाइरहेकी छिन्। एसियाको सबैभन्दा धेरै गोल गर्ने महिलाको सूचिमा उनी ८औँ नम्बरमा पर्ने गर्छिन्। उनले आफ्नो १० वर्षको करियरमा ४७  खेलमा ५४ गोल गरेकी छिन्। उनको औसत गोल १.१४ प्रतिशत रहेको छ। 

अहिलेको अवस्था हेर्दा २८ वर्षकी साम्बाले अझै ६ देखि ७ वर्ष सक्रिय फूटबल खेल्न सक्ने जस्तो देखिन्छ। उनले यही औसतमा गोल बनाइ रहिन भने उनी एसियाको सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचीमा टप ३ मा पर्ने उच्च सम्भावना रहेको छ। यो विषय नेपालका लागि मात्र नभएर समग्र दक्षिण एसियाका लागि गौरवको विषय बन्ने छ।

उनी भारतीय महिला लिगमा समेत गोलको वर्षा गर्दै इजरायलको शीर्ष डिभिजन लिगको क्लब हापोल रानानामा आवद्द भएकी थिइन्। उनले उक्त क्लबबाट २ खेलमा ५ गोल गरेकी थिइन्। तर इजरायल र प्यालेस्टाइन युद्धले गर्दा उनी नेपाल फर्किइन्।

साम्बा अहिले युरोपमा इएन अभान्ट गुईग्याम्पबाट फ्रान्सको शीर्ष डिभिजन लिग खेलिरहेकी छिन्। यो उनको दोस्रो सिजन हो। फ्रान्सको शीर्ष डिभिजन लिग विश्वको प्रतिस्पर्धात्मक लिगहरू मध्येको एकमा पर्ने गर्छ। यो उपलब्धि नेपाली खेलकुद इतिहास कै सबैभन्दा ठूलो हो। साबित्रा जस्तो प्रभावशाली खेलाडी नेपालको समग्र खेलकुद इतिहासले पनि अहिलेसम्म जन्माएको छैन।

दक्षिण एसियाबाट भारतकी मनिसा कल्यानले अहिले सम्मकै ठुलो महिला प्रतियोगिता खेलेकी छिन्। उनले साइप्रसको अपोलन लेडीज एफसी क्लबबाट युइएफए च्यामपियन लिग खेलेकी छन्। तर आन्तरिक क्लबमा पनि साबित्राले खेलिरहेको लिग केही प्रतिस्पर्धात्मक गरेको छ।

मनिसा र साबित्रा जस्ता खेलाडीहरूले अहिले युरोपियन लिगमा आफ्नो प्रभाव बनाइरहेका छन्। उनीहरूले विश्व फूटबलको ध्यान दक्षिण एसियाली राष्ट्रमा केन्द्रित गरिरहेका छन्। साथै, दक्षिण एसियाली र केही एसियाली राष्ट्रका आगामी पुस्ताका महिला खेलाडीहरूलाई युरोपियन लिगका बाटो देखाइरहेका छन्।

साबित्राको सुरुवाती करियर देखि अहिलेसम्मको यात्रा सबै उनको मिहिनेत र लगावको नतिजा हो। सुरुवाती क्षणमा उनलाई विभागीय टोली एपिएफले आवद्द गरेर धेरै सहयोग गरेको थियो। उनलाई बाटो देखाउने र उनलाई फूटबल खेल्न प्रेरित गरिरहने एपिएफ नै हो।

साबित्रा आफू यहाँसम्म आउनुको सबै श्रेय नेपाली फूटबल समर्थकलाई नै दिन चाहन्छिन्।

साबित्रा र नेपाली महिला फूटबल टोलीको करियरमा नेपाली फूटबलको सर्वोच्च निकाय एन्फाले धेरै कुरा गर्न सक्थ्यो। तर एन्फाको अपहेलना बीच पनि नेपाली महिला टोली र साबित्राले आफूलाइ प्रमाणित गरिरहेका छन्। साबित्रा र टिमले एन्फा र सरकारको इज्जत जोगाइदिरहेका छन्। एक जना रेफ्रिले अध्यक्षलाई नमस्कार नगरेको निउमा विदेशमा खेल सञ्चालन गर्न जान नदिएको उदाहरण नेपाल कै हो। 

यहाँ आफ्नो स्वार्थका लागि एन्फा पदाधिकारीहरू जे गर्न पनि तयार छन्। यसको असर भविष्यमा नेपाली महिला फूटबलमा पनि पर्न सक्छ।

अझै पनि सरकार र एन्फाले महिला फूटबललाई ध्यान नदिने हो भने साबित्रा जस्तो खेलाडी पाउन नेपाललाई असम्भव हुनेछ। त्यो खण्डमा अहिले नेपाली पुरुष फूटबलको जस्तो हालतमा महिला फूटबल नपुग्ला भन्न सकिन्न।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्