अनुहार जलेको अवस्थामा महोत्तरीमा शव भेटियो
जनकपुरधाम- महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
पिपरा गाउँपालिका- ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५-३० वर्षकी महिलाको शव फेला परेको हो । अनुहार जलेको अवस्थामा शव फेला
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार अहिलेसम्म मृतकको पहिचान भएको छैन । बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमाथि सल राखेर जलाइएको छ । अनुहारको केही भाग जलेको डीएसपी जयसवारले बताए । उनका अनुसार घटनास्थलको प्रकृतिले महिलाको हत्या भएको देखिन्छ ।
महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको छ ।
घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी जयसवारले बताए ।