Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित हालेको रिटमा यस्तो आदेश भएको हो।

यस विवादको निरूपणका लागि सर्वोच्चले एमाले र मीनबहादुरलाईसमेत छलफलका लागि झिकाएको छ ।

बस्तेनले दायर गरेको उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर गत मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए ।

त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्