Nic Ad Nic Ad
Nic Ad Nic Ad

किस्ताबन्दीमा उद्योगले बुझाउन थाले महसुल

सोमबार, कात्तिक १२, २०८१

काठमाडौँ - विद्युत् महसुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन थालेका छन् ।

बुटवलस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार, विद्युत् महसुल बुझाउन थाल्नेमा बुटवलको दुई वटा जेबी टेक्सटायल, भैरहवाको बिनायक स्पात प्रा.लि. रुपन्देहीको नयाँमिलस्थित नवनेपाल प्लाष्टिक इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श र नवलपरासीको सर्वोत्तम सिमेन्ट रहेका छन् ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा परी लामो समयदेखि विद्युत् महसुल भुक्तानी नगरेको भन्दै गत बिहीबार नेपाल विद्युत् प्राधिकरणले मुलुकभरि ३४ वटा उद्योगको लाइन काटिदिएको थियो । जसमध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा रहेका २३ वटा उद्योग थिए ।

गत बिहीबार विद्युत् लाइन काट्नु भन्दाअघि लुम्बिनी प्रदेशमा रहेका अर्घाखाँचीमा पर्ने शुभ श्री अग्नी सिमेन्ट, नेपालगञ्जको सम्राट् सिमेन्ट, रुपन्देहीको नयाँमिलस्थित नेशनल रबर इण्डष्ट्रिज, एजी हेल्थ इण्डष्ट्रिज र बुटवलको नारायण रबर उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन मञ्जुर भइ बुझाउन थालेकाले लाइन काटिनबाट जोगिएका थिए ।

प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरि प्रसाद पाण्डेले किस्ताबन्दीमा महसुल बुझाउन थालेपछि ती उद्योगको लाइन जोडेर उद्योग सुचारु भएको बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्