रास्वपा दबाब दिन बालुवाटार प्रदर्शनमा, सभापति लामिछानेको तिहार प्रहरी कस्टडीमै निश्चित
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तिहार जिल्ला प्रहरी कार्यालय कास्कीको कस्टडीमा नै हुने निश्चित भएको छ।
सहकारी ठगी, संगठित अपराधमा अनुसन्धानका क्रममा रहेका लामिछानेको थापिएको ७ दिनको म्याद शुक्रबार सकिने भए पनि अदालत तिहार विदामा बन्द हुने भएकाले यस्तो निश्चित भएको हो।
लक्ष्मी पूजाको दिनदेखि भाई टिकाको भोली पल्टसम्म सरकारी विदामा अदालत बन्द हुने सर्वोच्च अदालतले सूचना जारी गरेको छ। विहीबारदेखि सरकारी विदा सुरु हुन्छ।
यसैबीच, रास्वपाले सभापति लामिछानेलाई कस्टडीबाहिर निकाल्ने दबाब दिनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार केन्द्रित प्रदर्शन मंगलबार गर्ने भएको छ।
निषेधितक्षेत्र रहेको उक्त स्थानमा दबाबका लागि प्रदर्शन हुन लागेको हो। सभापति लामिछानेको ठगी प्रकरणको पक्राउलाई उसले राजनीतिक प्रतिशोध भन्दै आएको छ।