तीन तिरबाट आर्थिक चलखेलमा प्रश्न उठेका रास्वपाका विवादीत केन्द्रीय सदस्य थापा काठमाडौंमा!
काठमाडौं– तीन तिरबाट गम्भीर रुपमा आर्थिक चलखेलमा प्रश्न उठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादीत केन्द्रीय सदस्य मोहनजङ्ग थापा काठमाडौं आएका छन्।
सभापति सन्निकट रहेका थापा तिनै पात्र हुन् जसले रवि लामिछानेको रकम चलाउने काम गरेको आरोप लागेको छ। यति मात्र होइन, अमेरिकामा रवि लामिछानेले तिर्नुपर्ने त्यहाँको घरको कर्जा पनि थापामार्फत नै पूर्ति हुने गरेको विवरण सार्वजनिक भएको थियो।
त्योभन्दा पनि महत्वपूर्णचाहिँ उनीमाथि रास्वपामा काम गरेका व्यक्तिले नै प्रश्न उठाएका छन्। संयोग मान्नुपर्छ प्रश्न उठाउने व्यक्तिलाई भने तुरुन्त कारबाही गरिएको छ।
पहिलो पटक लामिछानेको कोर टीमका व्यक्तिले तीन करोड माग गरेर मन्त्री बनाउन प्रस्ताव गरेको बताएका तत्कालिन सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परे। श्रेष्ठले भनेको कोर टिमका एक सदस्य उनै थापा हुन्।
अर्कोचाहिँ लामिछाने गृहमन्त्री हुँदा प्रहरी सरुवा बढुवामा आर्थिक चलखेल हुने गरेको र त्यो रकम हुन्डीमार्फत अमेरिका हुँदै नेपाल पठाउने काममा थापाको हात रहेको पूर्वमहामन्त्री मुकुल ढकालले सार्वजनिक अन्तरवार्तामा लगाएका थिए।
यति मात्र होइन अमेरिकाको फेडरल ब्युरो अफ इन्भेष्टिगेशनलगायतका स्थानीय प्रहरीले पनि उनीमाथि अवैध लाइसेन्सलगायतका प्रकरणमा कारबाही गरेको विवरण सार्वजनिक भइसकेका छन्। भलै ति कारबाही केही पुराना भइसकेका छन्।
रास्वपाले बालुवाटार केन्द्रित प्रदर्शनको घोषणा गरेको पूर्वसन्ध्यामा थापा लाजिम्पाटमा देखा परेको दाबी गरिएको छ। थापाले सुबु केसीबाट पनि ७५ लाख रकम ठगी गरेको बताइन्छ।