Nic Ad Nic Ad
Nic Ad Nic Ad
युवती प्रयोग गरेर अपराध

हनिट्रयापः रकम जम्मा गर्न होटलकी कारिन्दा थापाको खाता चलाउँथे ताज, इन्स्पेक्टर इन्स्टामा भेटिइन्

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं– भैंसेपाटी हनिट्रयाप प्रकरणका मुख्य अभियुक्त ताज इस्लामले अपराध कर्मको रकम जम्मा गर्न अन्यको खाताको प्रयोग गर्दै आएको खुलेको छ।

यसपटक पनि उनले यस्तै हर्कत गरेका कारण अहिले सोही प्रकरणमा अभियुक्त भई सुनसरीको इटहरीको होटेलमा सामान्य कामदारका रुपमा रहेकी भिमादेवी थापा प्रहरी हिरासत र अनुसन्धानमा तानिएकी छन्। 

सुनसरीको दुहवी घर भएको इस्लाम यसअघि राष्ट्रिय अनुसन्धान विभागबाट कारबाहीमा परेको व्यक्ति हो। यसै पनि उसले अपराधकर्मका लागि ‘मास्टरमाइन्ड’ योजना बनाउने सीप सिकिसकेको उसलाई चिन्नेहरू बताउँछन्।

‘नियमित होटलमा जाने, खाने गर्दो रहेछ। त्यहिँ उसको भिमादेवी थापासँग चिनजान भयो। अनि, उसको खाता प्रयोग गर्न कन्भिन्स गरेछन्’, स्रोतले भन्यो,‘क्युआर र ओटीपी चलाउन नजान्ने थापाको क्युआरसहितको ओटीपी उसैले चलाउने गरेको रहेछ।’

यद्यपि थापाको कुन तहको संलग्नता छ भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ। 

विभिन्न समाचार सुत्रले क्यानडा नेपाललाई जानकारी दिएअनुसार यस प्रकरणका मास्टरमाइन्ड ताज इस्लाम र हनिट्रयापको उजुरी गरेर ब्ल्याक मेल गर्ने सुष्मा बिक हुन्। अन्य भने यीनिहरूको अपराधको जालोमा विविध प्रकारले जोडिएर आएका हुन्। 

यस प्रकरणमा इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पूर्जी जारी गरिएको छ। 

बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी व्यापारीलाई छाडिएको थियो। 

जिल्ला प्रहरी परिसर, ललितपुरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरी मुख्य मुद्दाको छानबिन गरेको थियो। यस प्रकरणमा पछि एसपी कमल थापा पनि तानिएका छन्। 

यसबाहेक यस प्रकरणको लहरो दरबारमार्ग हनिट्रयापमा पनि जोडिएको छ। 

सुनसरीका ताज इस्लाम नेतृत्वको समूहले गत जेठमा एमाले नेता तथा ठेकदार विदुर शर्मालाई पनि यसैगरी फसाएर १६ लाख रुपैयाँ असुलेको पुष्टि भइसकेको छ। यस प्रकरणको अनुसन्धान पनि तिव्रताका साथ हुने उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाइसकेको छ।

इस्लामलाई ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ। छानबिन गर्ने क्रममा उनीहरूले नै गत जेठमा शर्माविरुद्ध दरबारमार्ग वृत्तमा बलात्कारसम्बन्धि जाहेरी नै दर्ता गरेको समेत खुलेको थियो।

पछि १७ लाख रुपैयाँ लेनदेन भएपछि मुद्दा फिर्ताका लागि हुलाकमार्फत निवेदन पठाइएको समेत प्रहरी स्रोत बताउँछ। शर्मा दोलखा एमालेका नेता हुन्।

दोलखाकै मिटरब्याजी गणेश उप्रेतीसँगको विवादपछि त्यसरी युवती प्रहरी गरेर उनलाई फसाइएको अनुसन्धानमा पत्ता लागेको थियो। पछि लेनदेनमा मिलापत्र भएको थियो। त्यसपछि आरोपीलाई प्रहरीले पनि खोजी नगर्नुले यसमा प्रहरीसम्म सेटिङ रहेको समेत आशंका गरिएको छ। यस प्रकरणमा प्रहरीका अर्का अधिकारी पनि तानिने सम्भावना रहेको दाबी गरिन्छ। 

७ असोजमा शान्ति सुरक्षासम्बन्धी विषयमा भन्दै प्रभागमा मोरङ घर भई ललितपुरको इमाडोल बस्ने एक व्यापारीलाई थुनामा राखिएको थियो। यस प्रकरणमा तानिएका अर्का इटहरीका दर्शन पोखरेल भने अहिले फरार रहेका छन्। 
 

फरार इन्स्पेक्ट इन्स्टाग्राममा भेटिइन्
शाहीविरुद्ध पक्राउ पुर्जी भएपछि उनी फरार रहेकै अवस्थामा सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय रहेको खुलेको हो ।

शाहीले ३ दिन अगाडि एउटा पोस्ट राखेकी थिइन् भने आज (सोमबार) दिउँसो पनि पोष्ट राखेकी छिन् ।

उनले पोष्ट गरेको तस्बिरमा ‘Your value doesn’t decrease based on someone’s inability to see your worth. ‘ क्याप्सन राखेकी छिन् ।

३ दिन अघि गरेको पोष्टमा भने एक पुस्तकको कभरका साथमा ‘Healing doesn’t mean the damage never existed, it means the damage no longer controls our lives.’  पोष्ट गरेकी थिइन् ।

हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइ दिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो ।

यसअघि आपराधिक लाभ कसुरमा अनुसन्धान गरेको प्रहरीले घटनाको प्रकृति जटिल देखिएपछि आपराधिक लाभ र संगठित अपराधमा समेत अनुसन्धान सुरू गरिसकेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवल्दार महेन्द्र हमालसँगै समूहका नाइके इटहरीका ताज इस्लाम, युवती सुस्मा विक, भीमादेवी थापालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस् 

‘दरबारमार्ग १९ हनिट्रयाप’ प्रकरणको अनुसन्धानमा उपत्यका प्रहरी, अर्का एसपी पनि तानिने सम्भावना छ

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्