सशस्त्र इन्स्पेक्टरलाई टोपी लगाइदिन पुगेका प्रधानमन्त्री ओली रास्वपा प्रदर्शनलाई के भन्छन्?
काठमाडौं– सरकारी निवास बालुवाटार अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीसहित सशस्त्र प्रहरी बल प्रतिष्ठान मातातिर्थमा पुगेका छन्।
सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा तालिम सकेका इन्स्पेक्टरलाई टोपी लगाउन पुगेका प्रधानमन्त्री ओलीले रास्वपा प्रदर्शन र आन्दोलनलाई अराजकताको संज्ञा दिएका छन्।
ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताए।
प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने बताएका हुन्।
ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए।
समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए।
तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन तयार भएका छन्।