Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधवार मनाइने

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौँ- आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले बुधवार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष ‘स्वास्थ्य जीवनशैलीमा सात्त्विक आहार, नागरिक आरोग्यताको मजबुत आधार’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आज आयोजित अन्तरक्रियामा बोल्दै विभागका महानिर्देशक डा. प्रदीप केसीले भने, “हरेक नागरिकले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । अस्वस्थ जीवनशैलीले नसर्ने रोगहरू बढेका छन् । त्यसैले यो नारा हामीले रोजेका हौँ । स्वस्थ रहने, खानपिनमा ध्यान दिने, व्यायाम गर्ने कुरा सबैले बुझ्नुपर्छ ।”

उनले दिवसका अवसरमा देशभरका आयुर्वेद संस्था जस्तै सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुरलगायत विभिन्न आयुर्वेद अस्पतालमा विविध कार्यक्रम गरी मनाइने बताए ।

प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा विसं २०५६ देखि मनाउन थालिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्