दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा
काठमाडौं– सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगहरूले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत विद्युत सेवाबापतको महशुल बक्यौता तिर्ने भएका छन् ।
खासगरी, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न किस्ताबन्दीको सुविधा लिने गरी निवेदन दिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
यसअघि प्राधिकरणले महशुल नतिर्ने ३४ उद्योगको लाइन काटेको थियो । तर, सरकारी दुई सिमेन्टले महशुल तिर्ने बताउँदै आएका थिए । जसका कारण ती सिमेन्ट उद्योगमा लाइन जोड्नु भने परेन ।
लाइन काटिएका ३४ वटामध्ये हालसम्म १४ वटा उद्योगहरूले बक्यौता तिर्न सम्पर्कमा आएकाले लाइन जोडिएको प्रवक्ता घोषले बताए ।
सरकारी दुई सिमेन्ट कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका थिए ।
अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ ।