यता प्रधानमन्त्री–गृहमन्त्रीसँग भेट अनि आरजुसँग डीपीको आग्रह, उता रविको बयान सक्ने तयारी
काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई कैदमुक्त गर्नका लागि उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले अस्वभाविक चलखेल र सम्झौताको प्रयास गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका अर्याल र परियारले लामिछानेलाई छुटाउनका लागि याचना गरेका थिए। तर, कानुनी प्रक्रियामा गएका कारण त्यो सम्भव नहुने प्रकारको स्थिति रहेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका थिए।
यद्यपि एक प्रकारको मिहिन सम्झौता भइसकेको उच्च स्रोतको दाबी छ।
डीपीले रविको रिहाईका निम्ति गृहमन्त्री रमेश लेखकसँग पनि आन्दोलनका दौरान भेट गरेका थिए। उनले मित्र भएका कारण पनि भेट गरेको बताए पनि गृह स्रोतका अनुसार रविको रिहाईका निम्ति याचना गरेको जानकारी दियो।
‘प्रहरीलाई प्रतिवेदन चाँडो र खुकुलो बनाउन लगाएर धरौटीमा छाड्ने वातावरण बनाइदिन पर्यो भन्ने डीपी आर्यालको प्रस्ताव थियो। यसमा गृहमन्त्रीले मौनता देखाए पनि त्यहि प्रक्रियामा कुराकानी अगाडि बढेको हुनुपर्छ’, स्रोतले क्यानडा नेपालसँग भन्यो,‘परराष्ट्रमन्त्री आरजु राणासँग पनि भेटघाटको कुराकानी भयो।’
अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ ।
अर्यालले मन्त्री राणाका स्वकीय सचिवलाई म्यासेज गरेका थिए। आरजुका स्वकीय सचिव कमल रावललाई डीपीले भेटका लागि म्यासेज गरेका थिए।
स्क्रिनको म्यासेज बक्समा अङ्ग्रेजी अक्षरमा ‘कमल जी म डिपी अर्याल। एक पटक मन्त्रीज्यूसँग सर्ट मिटिङको टाइम मिलाउनु न’ लेखेर पठाएका थिए।
मन्त्री राणाको सचिवालयले भने रास्वपा उपसभापति अर्यालबाट मन्त्री राणासँग भेटको समयका लागि अनुरोध आएको पुष्टि गरेको छ।
यता प्रहरीले रास्वपा सभापति लामिछानेको बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ। बुधबार नै अदालतमा प्रतिवेदन बुझाएर लामिछानेलाई धरौटीमा छाड्न लगाउने वातावरणको सेटिङ भइरहेको उच्च स्रोतको दाबी छ।