साफ च्याम्पियन्सिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै, यस्तो छ हेड टु हेड
काठमाडौँ -नेपाल र बंगलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । त्यसमा ६ खेलमा नेपाल विजयी छ भने एक खेलमात्र बंगलादेशले जितेको छ । बाँकी ५ खेल भने बराबरीमा टुंगिएको छ । नेपालले पहिलो पटक बंगलादेशको सामना गरेको भनेको सन् २०१० मा हो ।
अवसर थियो, ११ औं दक्षिण एसियाली खेलकुद (साग) । त्यसमा नेपाल १–० ले विजयी रह्यो । बंगलादेशविरुद्धको अन्तिम खेल भने सन् २०२३ को हाङचाउ एसियाली खेलकुद हो । त्यहाँ भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
नकआउट चरणमा नेपाल र बंगलादेशबीच तीन खेल भएको छ । त्यसमा दुई सेमिफाइनल र एक फाइनल छ । दुवै सेमिफाइनलमा नेपाल विजयी भएको थियो । तर एक फाइनल भने बंगलादेशको पक्षमा रह्यो । त्यही खेल जितेर त हो बंगलादेशले यसभन्दा अगाडि सन् २०२२ को साफ च्याम्पिनयसिप जितेको । दशरथ रंगशालामा भएको त्यो खेलमा बंगलादेश ३–१ ले विजयी भएको थियो । त्यो सफलतासँगै बंगलादेशले महिला फुटबलमा पहिलो पटक उपाधि जितेको हो ।
नेपालले पाँचपल्ट साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको छ भने बंगलादेशले दुईपल्ट । नेपाल पाँचै फाइनलमा पराजित रह्यो । त्यो भारतसँग थियो । तर, बंगलादेश एकपल्ट विजयी रह्यो भने अर्कोपल्ट पराजित । साफ च्याम्पियनसिपमा मात्रै नेपाल र बंगलादेश चारपल्ट भिडेका छन् । त्यसमा तीन जित नेपालको छ भने एक बंगलादेशको । सन् २०२२ को फाइनलमा पराजित हुनु अगाडि नेपालले बंगलादेशविरुद्ध जितेका तीनै खेलमा कुनै गोल खाएको थिएन ।
नेपालले समग्रमा बंगलादेशविरुद्ध १७ गोल गरेको छ । यी गोलहरू ११ खेलाडीको नाममा छ । यसमा एक गोल आत्मघाती रह्यो । जमुना गुरुङ तीन गोलसहित सर्वाधिक गोलकर्ता सूचीको शीर्षमा छिन् । अहिले टिममा रहेका खेलाडीमध्ये सावित्रा भण्डारीले दुई, सविता रानागमर, प्रीति राई, अनिता बस्नेत र रेखा पौडेलले एक–एक गोल गरेका छन् । त्यसैले सावित्रासामु बंगलादेशविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडीको बराबरी गर्ने वा उछिन्ने दुवै अवसर हुनेछ ।
दुई टिमबीचका पछिल्ला ५ खेलमा भने बंगलादेशको स्थिति बलियो छ । यी खेलमध्ये एकमा बंगलादेशको त्यो प्रख्यात फाइनल जित नै रह्यो । बाँकी चारै खेल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा एक जित नेपाल, एक जित बंगलादेशको छ भने एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकको सार हो, सुरुआतीमा नेपाल पूर्णतः बंगलादेशमाथि हाबी रह्यो । पछि बंगलादेशको चुनौती बलियो हुन थाल्यो ।