नेपाल-भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखियो : वामदेव गौतम
काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताएका छन् ।
सिंहदरवारमा बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुलारुपमा तस्करी हुँदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको बताएका हुन् ।नेपालमा उत्पादित सुपारी निर्यातबारे समितिको छलफलमा गौतमले सरकारका रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेको र कहिले पनि समाधान हुन नदिने खेल भएको जिकिर गरे ।
नेपाल–भारत सीमामा देखिएका तस्करी लगायतका समस्या नियन्त्रण गर्न विधेयक बनाएर कानून तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । गौतमले खुला सिमानाको दुरुपयोग सुधार गर्न सरकारले कुनै पहलकदमी लिन नसकेको जिकिर गरे । नेपालमा उत्पादन भएको बस्तु खुला सिमानाबाट भन्सार छलेर भारततर्फ लैजाने गरेको र यसका कारण मुलुकको राजस्व समेत गुमेको उनले बताए ।