Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब जन्मनासाथ बालबालिकाको यी ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौँ- अब नेपालका प्रसूतिसेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण (बर्न स्क्रिनिङ) अनिवार्य हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् ।जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

निर्णयसँगै विशिष्टीकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ ।

यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ । बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरूमा हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताएका थिए ।

विश्वमा ६ प्रतिशत बालबालिकामा जम्नासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनले देखाएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्