Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुन्छ : ईश्वर पोखरेल

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् ।

नेकपा एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् ।सबै दलका प्रतिनिधि रहेको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वभाविक रूपमा लिनुपर्ने उनले बताए । पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षडयन्त्र भइरहेको धारणासमेत राखे । उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीनबहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दाबी गरे । मीनबहादुर गुरुङ एमाले निकट भएकै कारण उनलाई २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए ।

पोखरेलले काँग्रेस-एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे । मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले काँग्रेस-एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार